बालोन डि’ओरका पाँच दावेदार !

लण्डन । कोपा अमेरिका कप र युरोपेली च्याम्पियनसिपको समापनसँगै फुटबलको यो सिजन सकिएको छ । कोपामा अर्जेन्टिना र युरोपमा इटाली च्याम्पियन बन्न सफल भएको छ । एक महिनासम्म चलेको प्रतियोगिता दौरानबाट बालोन डि’ओर अवार्डको लागि केही आकांक्षी बढेका छन् । अब सबैको ध्यान नयाँ सिजनसँगै बालोन डि ओरमा पुगेको छ । गत सिजन क्लबमा गरेको प्रदर्शन, युरो र कोपामा गरेको प्रदर्शनको आधारमा बालोन डि ओर अवार्ड जित्न सक्ने पाँच खेलाडीलाई यहाँ प्रस्तुत गरिएको छ ।

लियोनेल मेस्सी (अर्जेन्टिना–बार्सिलोना)
लियोनेल मेस्सी यस वर्षको बालोन डि ओरको प्रमुख दावेदारको रुपमा उभिएका छन् । क्याटलान क्लब बार्सिलोनाबाट गत सिजन एक मात्रै उपाधि जितेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि जिताएपछि बालोन डि ओरको बलियो दावेदारको रुपमा अघि आएका हुन् । अर्जेन्टिनाले सन् १९९३ पघि पहिलोपटक ठुलो प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । मेस्सीले कोपामा ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए । ३४ वर्षीय मेस्सीले गत सिजन बार्सिलोनाका लागि ४७ खेलमा ३८ गोल गरेका थिए । मेस्सी र बार्सिलोनाबीच अझैपनि सम्झौता हुन सकेको छैन ।

जर्जिन्हो (इटाली–चेल्सी)
इटाली तथा इंग्लिस क्लब चेल्सीका मिडफिल्डर जर्जिन्हो बालोन डि ओरको अर्का दावेदार हुन् । उनले गत सिजन च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्न सफल भएका थिए । इटालीले आइतबार राति युरोको उपाधि जित्दा उनी टोलीका सदस्य रहेका थिए । २९ वर्षीय जर्जिन्होले गत सिजन चेल्सीका लागि ४३ खेलमा ८ गोल गरेका थिए ।

ह्यारी केन (इंग्ल्यान्ड – टोटेनहम)
इंग्लिस क्लब टोटेनहम तथा इंग्ल्यान्डका ह्यारी केन बालोन डि ओरको अर्काे दावेदार खेलाडीको रुपमा उभिएका छन् । युरोकपमा गरेको प्रदर्शनको आधारमा उनी दावेदारको रुपमा उभिए । उनको टोलीले इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेपनि उपाधिबाट वञ्चित भएपनि उनले उच्च प्रदर्शन गरेका थिए । उनले युरोमा ४ गोल गरेका थिए । उनले फाइनलमा अनुभवी डिफेन्डरद्धय जर्जियो चिलियानी र लियोनद्रो बोनुचीको बलियो रक्षापङ्तिलाई तोड्न सकेनन् ।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड – बायर्न)
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की बालोन डी ओरका अर्का एक प्रत्याशी हुनसक्छन् । भलै उनले युरोमा आफ्नो देशका लागि केही गर्न नसकेपनि उनले जर्मन क्लब बायर्नमा सबैभन्दा उत्कृष्ट समय व्यतित गरे । आफ्नो पूरा खेलजीवनमा लेवान्डोस्कीले केही अपवाद छाडेर पोल्यान्डका लागि निर्णायक मोडमा केही गर्न सकेका छैनन् । तर बार्यनका लागि उनी सधैं उम्दा खेलाडी हुन् । उनले पछिल्लो सिजन बायर्नबाट २९ खेलमा कीर्तिमानी ४१ गोल गरेका छन् । जुन एकै सिजनमा बायर्नका लागि गर्ड मुलरले राखेको कीर्तिमान तोडिएको थियो ।

जर्जियो किएलिनी (इटाली – युभेन्टस)
युरोमा आफ्नो टोलीलाई उपाधि जिताएपछि जर्जियो किएलिनी एकाएक बालोन डि ओर अवार्डको दौडमा उभिएका हुन् । कप्तान किएलिनीसँगै लियोनार्दाे बोनुचीको उच्च डिफेन्स र गोलरक्षक जियानलुइजी डोन्नररुम्माको उच्च प्रदर्शनले इटाली ५३ वर्षपछि युरोपको च्याम्पियन बन्न सफल भएको थियो । यि भेट्रान डिफेन्डर २००६ को विश्वकप च्याम्पियन भएपछि यसपटक युरोको उपाधि जित्न सफल भएका खेलाडी हुन् ।

यसबाहेक पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो, ब्राजिल तथा पीएसजीका नेयमार, फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे, नर्वे तथा बोरुसिया डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड, फ्रान्स तथा चेल्सीका एङ्गोलो कान्टे र पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस बालोन डि ओरको अवार्डको सुचीमा रहेका छन् । यस्तै रुवेन डियास, करिम बेन्जेमा, रोमेलु लुकाकु, फिल फोडेन, जियानलुइजी डोन्नररुम्मा, केभिन डि ब्रुएन, रहिम स्टर्लिङ, मासन माउन्ट, इल्केए गुन्डोगान र पेड्री पनि यो दौडमा छन् ।

-सौर्य दैनिकबाट

प्रकाशित : शनिबार, साउन ०२, २०७८०९:१९

माधव नेपालसँगको एकता ओलीले अस्वीकारे !