एमाले विवाद : नपर्खिने नीतिमा ओली

काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालतको फैसलापछि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष नआए पनि अघि बढ्ने नीति लिएको छ । आज मात्रै खनाल–नेपाल समूहको अनुपस्थितिमा च्यासलस्थित तुल्सीलाल भवनमा स्थायी कमिटी बैठक बस्यो । बैठक सुरु भएको करिब आधा घण्टापछि खनाल–नेपाल समूहका कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

उक्त समूहको तर्फबाट कार्यदलको संयोजक रहेका भीम रावलका अनुसार सुरुआतमा नै ओलीले हस्ताक्षर नगरी बैठकमा बोल्न नमिल्ने बताएका थिए । तर, रावलले कार्यदलको संयोजक र पार्टीका उपाध्यक्षको हैसियतले बोल्न दिन माग गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली राजी भएका थिए । सो क्रममा रावलले स्थायी कमिटी र संसदीय दलको बैठक रोकेर नेता नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।

तर, ओलीले बैठक जारी रहने भन्दै कार्यसूचि अघि बढाउन निर्देशन दिए । त्यसपछि आफूहरु बैठकमा सामेल नुहेन भन्दै कार्यदलका सदस्यहरु बैठकस्थलबाट बाहिरिएका थिए । बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले खनाल–नेपाल पक्षको आग्रहमा बैठक रोकिएको तर अब बैठक रोक्न नसक्ने बताए । ‘हामीले उहाँको आग्रहमा अदलातको फैसला आएको दिन नै बैठक स्थगित गर्यौैं । बैठकमा भोलि हामी सबै आउँछौं भनेर पार्टी उपाध्यक्ष भीम रावलले भन्नुभयो । २९, ३० गते पनि बैठक बसेन । सधैं बैठक रोकिरहन सम्भव हुँदैन । पार्टी आफ्नो ढंगले अघि बढ्छ । कार्यदलका सुझावहरु कार्यान्वयन गर्ने क्रममा हाम्रा छलफलहरु जारी रहन्छन् । पार्टी आफ्नो गतिमा, लयमा, निर्णयमा चल्दै अघि बढ्छ । अनन्तकालसम्म पर्खेर बस्न सम्भव हुँदैन्,’ रावलले भने ।

बैठकले पार्टी एकताका लागि कार्यदलले दिएको १० बुँदे सुझावलाई पारित गरेको छ । उक्त सुझाव पारित गर्दै कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएर कार्यदल विघटन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । उक्त सहमति पछि कार्यदलका सदस्यहरुले प्रतिवेदन ओली र नेता नेपाललाई बुझाएका थिए । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । बैठकले सरकारको विपक्षमा उभिन नेताकार्यकर्तालाई निर्देशन पनि दिएको छ ।

‘यो बैठकको सबैलाई निर्देशन छ, यो सरकारको विपक्षमा उभिने, प्रतिपक्षीको भूमिकामा रहने,’ बैठकपछि ज्ञवालीले भने । खनाल–नेपाल समूहले बालुवाटार छाडेर बालकोटमा पुगेपछि दिएको अभिव्यक्तिले एकताको वातावरण विग्रिएको निष्कर्ष निकालेको छ । ओलीले निवास बालकोट पुगेर नेता नेपाललाई पार्टीमा ठाउँ नै नभएको अभिव्यक्ति दिएका थिए । ‘नेता भइसकेपछि कस्तो बोल्ने व्यवहार गर्ने भन्ने त हुनुपर्यो नि । छुद्र तरिकाले बोलेर पार्टी एकताको कुरा गर्ने ? यसले वातावरण नराम्रोसँग बिग्रियो । मिलेर जाऔं भन्दा पनि मिल्ने खालको, स्वभाव, शैली, व्यवहार पटक्कै देखिएनन् । यस्तो अवस्थामा बैठकमा जाने कुरा भएन्’, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन् ।

प्रकाशित : शनिबार, साउन ०२, २०७८०९:३८

एसइईमा धेरैलाई ९० प्रतिशत अंक !