फेरियो परिस्थिति, भट्टभट सांसदले साथ छाड्न थालेपछि कम्जोर भए महन्थ !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन्। यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानीमण्डल र नरमाया ढकाल बैठकमै उपस्थिति भए। रुही नाथले आफू काठमाडौंबाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन्। ‘उहाँ (रुही नाथ) हाम्रो पक्षमा आइसक्नुभएको छ। आज (शनिबार) सर्लाहीमा भएकाले बैठकमा आउन नसक्नुभएको हो,’ नेता मृगेन्द्रसिंहले भने, ‘उहाँले यो कुरा हाम्रो अध्यक्षज्यूलाई जानकारी गराउनुभएको छ।’

ठाकुर पक्षका सांसद प्रमोद साहले आफूलगायत ६ सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको प्रस्ट पारे। उनले थप एक सांसद दुलारीदेवी खतवेले पनि कित्ता परिवर्तन गरेको दाबी गरे। ‘हामी ६ जना सांसद अब महन्थ ठाकुर पक्षमा छैनौं,’ साहले भने, ‘पार्टी बचाउन उपेन्द्र यादव पक्षमा पुगेका छौं।’

केपी ओली नेतृत्व सरकारमा मन्त्री नभएपछि साह महन्थ ठाकुरसँग असन्तुष्ट छन्। कित्ता परिवर्तन गरेकाहरू ओली सरकारमा मन्त्री नभएकाहरू मात्रै छन्। ओली सरकारमा मन्त्री भएकाहरूले भने कित्ता परिवर्तन गरेका छैनन्। कित्ता परिवर्तन गरेकाहरू शुक्रबार महन्थ ठाकुरले बोलाएको जसपाको संसदीय दलको बैठकमा सहभागी भएका थिएनन्।

ओली सरकारमा जाने बेला ठाकुर पक्षसँग २० र उपेन्द्र यादवको पक्षमा १२ जना मात्र सांसद थिए। ओली सरकारमा जाने तयारी थालिएसँगै यादव पक्षमा चार सांसद कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए। ठाकुर पक्षका एक सांसद महेन्द्र यादव भने पहिले नै कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका थिए। अरू सांसद विमल श्रीवास्तव, उमाशंकर अगरैया, रेणुका गुरुङ, कल्लुदेवी विश्वकर्मा कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए। यादव पक्षका पाँच सांसदले कित्ता परिवर्तन गरेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको थियो।

तर अब परिस्थिति फेरिएको छ। ठाकुर पक्षका पाँच सांसदले कित्ता परिवर्तन गरेका छन्। अब यादवको पक्षमा सांसद १७ पुगेको छ भने ठाकुर पक्ष १५ सांसदमा सीमित भएको छ। खतवेले कित्ता परिवर्त गरे यादवको पक्षमा १८ र ठाकुरको पक्षमा १४ सांसद हुनेछन्। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। बाँकी ३२ सांसदमध्ये केहीले कहिले कता कहिले कता कित्ता परिवर्तन गर्ने गरेका छन्। ठाकुर पक्षका अर्का एक सांसद राजकिशोर यादव ठाकुर पक्षबाट टाढिएका छन्। यद्यपि उनी उपेन्द्र यादव पक्षमा पुगेका छैनन्। उनले जसपाभित्रै अर्को गुट बनाएको चर्चा सुरु भएको छ।

प्रकाशित : आइतबार, साउन ०३, २०७८०८:०७

ओली-नेपालका आ–आफ्नै दाउ !