बेल टोट्टेनह्याम स्क्वाडबाट आउट !

एजेन्सी – गत सिजन लोनमा रियल म्याड्रिडबाट टोट्टेनह्याम पुगेका ग्यारेथ बेललाई क्लबमा राख्न नवनियुक्त प्रशिक्षक अनिच्छुक देखिएका छन्। केहि समय अगाडी मात्र क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका नुनो इस्पिरितो सान्तोषले बेललाई आफ्नो योजनामा नराख्ने भएका हुन्।

बेल टोट्टेनह्याम रहने नरहने भन्ने विषयमा अन्योल रहेका बेला क्लबमा नयाँ प्रशिक्षक सान्तोषले सन् २०२१-२२ को क्याम्पेनमा बेल सहभागी नहुने स्पष्ट रुपमा जानकारी गराए। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले बेल बारे संक्षिप्त टिप्पणी गर्दै सान्तोषले भने,”ग्यारेथ बेल हाम्रो टिमको हिस्सा हुने छैनन्।”

पछिल्लो समय रियलमा मौका नपाएका बेल गत सिजन मात्रै लोनमा टोट्टेनह्याम पुगेका थिए। त्यसक्रममा उनले टोट्टेनह्यामका लागि खेल्दै ११ गोल समेत गर्न सफल भएका थिए। २० खेल खेलेर ११ गोल गर्दा उनले एक ह्याट्रिक पनि गर्न सफल भएका थिए।

सन् २०१३ मा विश्व किर्तिमानी मूल्यमा रियल म्याड्रिड पुगेका बेलले केहि वर्ष राम्रो खेलेपनि पछिल्ला केहि वर्ष देखि उनको प्रदर्शनमा गिरावट आएको छ। त्यति मात्र नभई उनलाई चोटले पनि सताउने गरेको छ। रियलमा रहँदा उनी विभिन्न पटक घाइते भइसकेका छन्।

केहि समय अगाडी उनले फुटबलबाट सन्यास लिने चर्चा पनि चलेको थियो। त्यसक्रममा बेलले युरोपियन च्याम्पियनसिप सकिए लगतै सन्यास लिने भनिएको थियो। तर, त्यस सम्बन्धमा बेल आफैं भने केहि बोलेका छैनन्। विभिन्न मिडियाहरुले दावी गरे अनुसार बेलले छिट्टै नै आफ्नो भविष्य बारे निर्णय गर्नेछन्।

प्रकाशित : सोमबार, साउन ०४, २०७८११:४६

“ब्यालुन डी ओरका प्रमुख हकदार मेस्सी हो, उनी सधै एक नम्बर हुन्”