पीएसजी मिडफिल्डर लियोनार्दो पाराडेसले अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आफ्नो क्लब सम्मिलित हुनु एक सपना रहेको बताएका छन्। गत सिजनको सुरुवातमा बार्सिलोना कप्तानले क्लब छाड्ने निर्णय गरेर सारा फुटबल जगतमा तहल्का मच्चाएका थिए। तर अन्ततः उनी बार्सा मै बस्ने निर्णय गरे।

जुन ३० बाट फ्री-एजेन्ट भएका मेस्सीको अर्को गन्तब्यको रूपमा पीएसजीलाई पनि हेरिएको थियो। तर रिपोर्टसका अनुसार मेस्सीले बार्सिलोनासंग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन्। यससंगै पीएसजीको मेस्सीलाई भित्र्याउने सपना पनि निराशामा परिवर्तन भएको छ। मेस्सीको कप्तानीमा अर्जेन्टिनासंग कोपा अमेरिका २०२१ को उपाधि जितेका पाराडेसको पीएसजीमा मेस्सीसंग खेल्ने सपना पनि सकिएको छ।

ईएसपीएनसंग बोल्दै अर्जेन्टिनी मिडफिल्डरले भने,”हो, क्लब भित्र निकै चर्चा चलेको थियो मेस्सी आउन सक्छन् भन्ने। उनी अर्को सिजन हामीसंग हुन्छन् भन्ने सपना जस्तै थियो। तर त्यस्तो हुन सकेन।”

पीएसजीले मेस्सीलाई क्लब भित्र्याउने आफ्नो चाहनालाई गोप्य राखेको थिएन। क्लबका ध्यक्ष नासेर अल-खेलाइफी र खेल निर्देशक लियोनार्डो दुबैले सार्वजनिक रूपमा यस वर्षको सुरुवातमा मेस्सी प्रत क्लबको चासो रहेको पुष्टि गरेका थिए। मेस्सीका पूर्व टिममेट पीएसजी स्टार नेइमारले पनि मेस्सीलाई क्लबमा खुल्ला हातले स्वागत गर्ने बताएका थिए।

