एमालेको निर्णयमा विरोधास, पार्टी अन्योलको भूमरीमा !

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको सोमबारको बैठकले दुई परस्पर विरोधाभास निर्णय गरेको छ । पार्टीको बैठकमा आन्तरिक विवाद सम्बन्धमा गरेका दुई निर्णय एकआपसमा बाझिएको देखिएका छन् । पहिलो, पार्टी कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने र दोस्रो शेरबहादुर देउवाको समर्थनमा भोट हाल्ने सांसदहरुलाई कारवाही गर्ने । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।

‘परस्परविरोधि’ यी दुई निर्णयलाई एमाले नेतृत्वभित्रको विरोधाभासका द्योतकको रुपमा हेरिएको छ । पार्टीका दुवै समुह मुखले एकताको रटान लगाइरहेका छन् तर व्यवहारले दुरी बढाइरहेका छन् । फलतः सिंगो पार्टी अन्योलको भूमरीमा फँसिरहेको छ ।

एकताका लागि १० बुँदे सहमति गरिसकेको माधव नेपाल पक्षका २२ जना सांसद (८ नवआगन्तुकसहित) ले पार्टीको ह्वीपविपरित देउवा सरकारलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय सोमबारको केन्द्रिय समिति वैठकले गरेको छ ।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको १० औं बैठक राखेर १० बुँदे सहमति प्रस्तावको भावनालाई २०७५ जेठ २ को शिलशिलामा जोडेको बताए ।

१० बुँदेको अनुमोदन र कारवाही प्रस्ताव परस्परविरोधी भएनन् भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘१० बुँदेले पार्टीको निर्णय अवज्ञा गर भन्छ र ? त्यसले त पार्टीलाई एकतावद्ध बनाउने न हो । उहाँहरुले जे गर्नृुभयो त्यो गलत हो ।’ १० बुँदे अनुमोदन गरेको भए पनि एमालेको संस्थापन पक्षले अब माधव नेपाल पार्टीमा नफर्किने निष्कर्ष निकालेको छ । ज्ञवालीले सोमबारको बैठकका निर्णय सुनाउँदा यसबारे पनि उल्लेख गरे ।

‘उहाँहरुलाई सहमतिमा ल्याउन हामीले अथक प्रयास गरेका हौं, आइतबार बिहान पनि हामी माधव नेपालकोमा थियौं,’ उनले भने, ‘त्यहाँ उपस्थित हामी सबैले १० बुँदे सहमतिको स्प्रिट स्वीकार गर्दै अघि बढ्नका लागि आग्रह ग¥यौं । तर, उहाँले तीनवटा कुरामा ठाडो जवाफ दिनुभयो । पहिलो, १० बुँदे सहमतिका कयौं बुँदामा म सहमत छैन । दोस्रो, म कांग्रेसलाई विश्वासको मत दिने वचनबाट पछि हट्न सक्दिनँ । र, तेस्रो, जुन कमिटीमा म अल्पमतमा छु, त्यो कमिटीमा गएर त्यसको निर्णय मान्दिनँ ।’

यसै आधारमा नेपाल पार्टीमा फर्किदैनन् भन्ने निष्कर्ष संस्थापन पक्षले निकालेको हो । नेपाल पक्ष भने अध्यक्ष ओलीले एकता नचाहेको र यो निर्णयबाट एकताको सम्भावना झन् टाढा पुगेको बताउँछ । ‘उहाँले पार्टीको जिम्मेवारीबाट त हामीलाई पहिल्यै निकालिसक्नु भएको छ,’ नेपाल पक्षकी सांसद कल्याणीकुमारी खड्का भन्छिन्, यसको कुनै अर्थ छैन, उहाँ जे मन लाग्यो त्यही गर्नुहुन्छ ।’ खड्काको प्रश्न छ, ‘यस्तो गरेर पार्टी एकताको वातावरण बन्छ त ? हामीले एकता चाहेर मात्रै भएन । हामीलाई कारवाही गर्दा पनि हामी चुप लागेर बस्यौं, तब पनि एकता हुन सकेन । अनि अस्ति कार्यदलका नेता कमरेडहरु स्थायी कमिटी बैठकमा जानुभयो । हाम्रा कुरा राख्छौं भन्दा पनि पार्टीबाट लखेटेर पठाइदिनुभयो ।’

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८०८:५४

श्रीमानको कलेजो ८० प्रतिशत बिग्रियो, श्रीमतीले दिइन् आधा भन्दा बढी कलेजो !