श्रीमानको कलेजो ८० प्रतिशत बिग्रियो, श्रीमतीले दिइन् आधा भन्दा बढी कलेजो !

मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ
मैं मरे तिमीलाई कसले माया गर्छ

जाजरकोट कुशे गाउँपालिका–९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक–पटक सुनेकी थिइन्। उनको जिन्दगीमा यस्तो मोड आयो, श्रीमान् ४७ वर्षीय भरतविक्रम शाहीका लागि मुटु त होइन, कलेजो चाहियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

कलेजो भने दिन मिल्ने थियो। आधा–आधा बाँडेर साझा जिन्दगी खुसीसाथ बाँच्न सम्भव थियो। त्यही भएर उनी खुसीसाथ तयार भइन्। र, श्रीमान्ले नयाँ जीवन पाए।

भरतविक्रमलाई अस्पताल ल्याउँदा कलेजो ८० प्रतिशत बिग्रिइसकेको थियो। अस्पताल ल्याउँदा श्रीमान् घर फर्किन्छन् भन्ने सोचेकी रहिनछन् श्रीमती कमलादेवीले।

कलेजो प्रत्यारोपण नगरे भरतविक्रमको आयु बढीमा चार महिना भनिएको थियो। चिकित्सकले कलेजो प्रत्यारोपण गर्न मिल्ने बताएपछि कमलादेवीको आशा जाग्यो। तर, कलेजो कसले दिने ? आफन्त, नातागोता खोज्न थालिन्। त्यसपछि कमलादेवीले नै आँट गरिन्, ‘आफ्नै कलेजो दिएर श्रीमान्लाई बचाउँछु।’ दुई छोरा र जेठी छोरीले कलेजो दिन चाहे पनि उनीहरूलाई रोकेर कमलादेवी आफैं अघि सरिन्।

परीक्षणबाट रगतको समूह मिल्यो। रोग केही देखिएन। कमलादेवीलाई श्रीमान् बचाउन सकिन्छ भन्ने लाग्यो। ‘जसरी पनि बचाउँछु भनेर आँटेपछि डर पनि लागेन। कि दुईटै मर्ने कि दुई बाँच्ने भनेर तयार भएँ’, उनी भन्छिन्, ‘श्रीमान्को स्वास्थ्यका अगाडि केही डर लागेन।’

उनले आफ्नो ६० प्रतिशत कलेजो दिएर श्रीमान्लाई पुनर्जीवन दिएकी हुन्। प्रत्यारोपणका क्रममा झन्डै १३ युनिट रगत लागेको थियो।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८०९:२५

ओली पक्षका ७ सांसदले साथ दिए राष्ट्रपतिमाथि महाअभियोग !