प्रेम विवाहका नाममा बालविवाह बढ्दै: ९-१०मा पढ्दा-पढ्दै गर्छन् विवाह !

कैलाली । कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै एउटै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे ।

किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने जिम्मेवारी थपियो । उमेर नपुग्दै विवाह गर्दा उनीहरूको पढाइ छुट्यो । कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, बच्चाको स्याहार, आर्थिक भार थपियो ।

भारतमा गएर कुबेरले होटलमा भाँडा माझ्ने काम गरेर घरमा सामान्य खर्च पठाउन थाले । कलिलै उमेरमा आमा बनेकी सुगन्धाले बच्चाको राम्ररी स्याहार गर्न नसक्दा बच्चा कुपोषित बन्यो । हाल बच्चा अस्वस्थ छ ।

‘बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ । सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ,’ सुगन्धाले भनिन्, ‘हाल विवाह पछुतो भएको छ । भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन् । घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो ।’

विगतमा उमेर नपुग्दै अभिभावकले गरिदिने मागी विवाह अहिले भागी (प्रेम) विवाहका नाममा बढ्दै गएको छ । विगतमा अभिभावकको मञ्जुरीमा उमेर नपुग्दै गरिने विवाह हाल माया प्रेमका नाममा बालबालिकाले आफैँ गर्न थाल्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । यसरी परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ ।

कैलालीका हरेक विद्यालयमा उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरी भेटिन्छन् । अझ पढ्दापढ्दै कक्षा ९/१० मा पढ्ने बालबालिका विवाहको बन्धनमा बाँधिएका देख्दा शिक्षकको मन दुख्छ । तर मन दुखेर के गर्नु ? शिक्षकले सम्झाउने हो तर रोक्न सकेको अवस्था छैन ।

मोति मावि मोतिनगरका प्रधानाध्यापक दीपककुमार दास आफू विद्यालयमा सरुवा भएर आएको छ महिना पुगेको बताउँछन् । ‘कक्षा १० मा ७ जना किशोरी विवाहित छन्, कक्षा १० पढ्नेको उमेर १६/१७ भन्दा बढी त हुन्न,’ प्रधानाध्यापक दासले भने, ‘विवाहित किशोरीलाई पढ्ने वातावरण हुँदैन । घरको काम गर्नुपर्दा उनीहरू पढाइमा पछाडि पर्छन् ।’

प्रअ दास समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन् । ‘यसरी किशोरी विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नुहँदा बीचैमा छोड्छन्, विवाहबाटै उनीहरूको जीवन बर्बाद हुन्छ,’ उनी भन्छन्, ‘एकजना शिक्षिकालाई बालविवाहविरुद्ध जनचेतना जगाउन सम्पर्क व्यक्तिका रूपमा तोकेका छौँ । नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन ।’

बालविवाह कानूनीरूपमा अपराध हो । विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन । शिक्षकहरूले चेतना जगाउने काम गर्छन् । भृकुटी मावि सुवर्णपुरका प्रधानाध्यापक नृपराज भण्डारीका अनुसार हरेक वर्ष पाँच जनासम्म बालबालिका विवाहको बन्धनमा बाँधिन्छन् ।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१०:२९

कोरोना सङ्क्रमण बढ्दै, थप २५ को मृत्यु !