काठमाडौँ, साउन ८ । आज बिहानै काठमाडौ लगायतका आसपासका अन्य भागमा भूकम्पको कडा धक्का महसुस भएको छ ।
आज बिहान करिब ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार अर्थात् आज भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
प्रदेश सरकारद्वारा प्रहरीलाई सवारी साधन हस्तान्तरण
गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार प्रदान गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गर्नुभयो । सरकारले उपलब्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रहरीलाई चुस्तदुरुस्त, सङ्गठित र सक्षम बनाउन सबलीकरण अपरिहार्य रहेकाले प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको सफलता र असफलताको आधारनै शान्ति सुव्यवस्था र सुशासन हो । सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर सेवा प्रवाह सरल बनाउन प्रतिबद्ध छ ।”
प्रहरी नायब महानिरीक्षक लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रणलगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउनुभएको थियो । उहाँले प्रदेशभर सात हजार ४९४ दरबन्दी भए पनि पाँच हजार ७०० जना कार्यरत रहेको जानकारी दिँदै प्रहरीको तल्लो तहमा साधन स्रोतको अभाव रहेको उल्लेख गर्नुभयो ।

