जहाजभन्दा पनि महंगो गाडीको भाडा, मारमा सर्वसाधारण !

काठमाडौं । कुनै गन्तव्यमा जाँदा हवाई जहाजभन्दा यात्रुबाहक सवारीसाधनको भाडा महंगो पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्नसक्छ ! तर, कोरोनाका कारण लगाइएको निषेधाज्ञा लम्बिँदै जाँदा अहिले देशमा यस्तै खालको बिडम्बनापूर्ण अवस्था यात्रुहरुले झेलिरहेका छन् । बिहीबार विराटनगरबाट काठमाडौं आउने हवाई भाडा प्रतिव्यक्ति २२ सयको हाराहारी छ । तर, बिहीबारैै मोरङबाट आउने बस र हायसले २५ सयदेखि ३ हजारसम्म यात्रुसँग भाडा असुलिरहेका छन् । मोरङबाट बिहीबार काठमाडौं आएकी सुधा अधिकारीले आफूले २५ सय रूपैयाँ भाडा तिरेको बताइन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उनले भनिन् ‘आउनैपर्ने बाध्यता भएपछि २५ सय तिरेर काठमाडौं आएकी हुँ । मलाई कुनै टिकट पनि दिएनन् ।’ तपाईंलाई लाग्न सक्छ हवाई भाडा सस्तो छ त कोही किन गाडीमा अनेक हन्डर खाँदै यात्रा गर्छ ? तर, यो उनीहरूको वाध्यता हो । हवाईजहाजमा यात्रा गरिसकेपछि पनि आफ्नो घरसम्म पुग्न फेरि गाडी चढ्नैपर्छ । त्यसमा पनि उत्तिकै महंगो भाडा तिर्नुपर्ने हुँदा यात्रु थप दबाबमा पर्छन् । फेरि जहाज चढ्नका लागि पनि घरदेखि सदरमुकासम्म आउन जो कोहीलाई सजिलो हुँदैन । गाउँघरमा धेरैलाई त जहाजको भाडादरसमेत थाहा छैन र उनीहरू चुपचाप गाडीले मागेको भाडा तिरेर यात्रा गर्न विवश छन् ।

नेपाल सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन नखुलाएकाले अहिलेको परिस्थिति सिर्जना भएको हो । निषेधाज्ञा जारी भएसँगै यातायातमा लगाइएको प्रतिवन्ध छोटोदूरीका लागि खुले पनि लामो दूरीका लागि अझै कायम छ । त्यसैले लामो दूरीका यात्रुलाई सार्वजनिक सवारीसाधनले वैधरूपमा ओसारपसार गर्न पाउँदैनन् । यातायात व्यवसायीले विभिन्न बहानामा प्रशासनसँग अनुमति लिएर यात्रु महंगो भाडादरमा यात्रु ओसार्ने गरेका छन् । यसरी यातायात व्यवसायीले खुलेआम सर्वसाधारण यात्रुबाट चर्को भाडा लिँदा प्रशासन भने मुकदर्शक बनेको छ ।

विगतमा कडा लकडाउन हुँदा यातायात व्यवसायीले प्रतियात्रु ५ हजारसम्म लिएर काठमाडौं बाहिरका यात्रुलाई ओसारपसार गर्ने गर्थे । अहिले लकडाउन खुलेसँगै प्रतियात्रु भाडा दर २५ सयदेखि ३ हजारमा झरेको हो । त्यसो त सरकारले लामो दूरीका सार्वजानिक यात्रुवाहक सावारीसाधनको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णयसमेत गरिसकेको छ । तर, व्यवसायी आफैंले यसलाई कार्यान्वयनमा ल्याएका छैनन् । दोब्बर–तेब्बर भाडा असुलिरहेका उनीहरुलाई २८ प्रतिशत वृद्धिमा खासै चित्त बुझेको छैन । सरकारको निर्णय कार्यान्वयनमा आइनसकेको भन्दै उनीहरु मनपरी भाडा असुलिरहेका छन् ।

सर्वसाधारणबाट चर्को भाडा लिइएको सम्वन्धमा यातायात व्यवसायीका संस्थाहरु भने अनभिज्ञता दर्शाउँछन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन् ‘अहिले लामो दूरीका यातायात बन्द अवस्थामा छन् । यो बेलामा कसले गाडी कुदायो, कसले बढी भाडा लियो हामीलाई जानकारी हुँदैन । हाम्रा त सबै काउन्टरसमेत बन्द भएको अवस्था छ ।’ बिहीबारैै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले लामा दूरीका यातायात खोल्ने विषयमा छलफल गर्न बोलाएको उनले जानकारी दिए । ‘कहिले खोल्ने भन्ने नै टुंगो नरहेको बेला कसले यातायात सञ्चालन गर्यो र भाडा कति लियो भन्ने कुरा हामीले भन्दा पनि सरकारले अनुगमन गर्नु पर्ने विषय हो ।’

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१०:४४

एक्कासी झस्किए देउवा !