एजेन्सी – एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीले बार्सिलोना र रियल म्याड्रिडलाई गल्ती नगर्न चेतवानी दिएका छन्। लालिगा २०२०-२०२१ को सिजनमा एटलेटिको म्याड्रिडलाई च्याम्पियन बनाएका सिमोनीले एक अन्तर्वार्ताका क्रममा बार्सिलोना र रियल म्याड्रिडले गल्ती नगर्न चेतवानी दिएका हुन्।
स्पेनिस पत्रिका मार्कालाई अन्तर्वार्ता दिनेक्रममा सिमोनीले अब आउने समयमा बार्सिलोना र रियल म्याड्रिडले गल्ती गर्न नसके बताए। रियल र बार्सा एटलेटिको भन्दा जहिले पनि अगाडी रहने गरेको भएपनि अब गल्ती गर्न नसक्ने सिमोनीको भनाई छ।
अन्तर्वार्ताका क्रममा उनले सन् २०१४ मा लालिगा जित्दाको क्षण पनि सम्झिए। सन् २०१४ मा रियल र बार्सा भन्दा आफूहरुले राम्रो खेलेको र सन् २०२१ मा आएर आफूहरु झनै बलियो भएको सिमोनीले बताए।
“दुवै क्लबको इतिहास धेरै बलियो छ। उनीहरुको स्क्वाड धेरै बलियो हुन्छ। तर, यसको यो अर्थ हुँदैन कि हामी पनि कम्जोर छौँ।”,उनले भने,”रियल र बार्साले गल्ती गर्न सक्दैनन्।”
एटलेटिको रियल र बार्साको बीचमा पर्ने गरेको कुरालाई उनले नकारे। एटलेटिकोलाई आफ्नो स्थान थाहा भएको र आउने समयमा थप सुधारिएको प्रदर्शन गर्ने तर्फ आफूहरुको प्राथमिकता रहने सिमोनीले बताए।
त्यस्तै उनका अनुसार रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, पीएसजी, म्यानचेस्टर सिटी, बायर्न म्युनिख जस्ता क्लबहरु ऐतिहासिकहरु रहेका छन्। त्यसको अर्थ सधैं उनीहरुले नै जित्छन् भन्ने नहुनु उनले उनको भनाई छ।