स्पेनिस क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई आफ्ना स्टार खेलाडी एन्टोइन ग्रिज्मन अफर गरेको छ। तर फ्रेन्च खेलाडीको साट्टोमा बार्सिलोनाले सिटीका ४ खेलाडीमा आफ्नो चासो रहेको बताएको छ। क्याटालान क्लब अहिले प्लेयरलाई दिने पारिश्रमिक बिल घटाउनै पर्ने बाध्यतामा रहेको, जसको लागि क्लबले ग्रिजमनबाट छुटकारा पाउनु पर्ने बुझेको छ।
विश्वविजेता ग्रिजमन २०१९ मा एथलेटिको म्याड्रिडबाट १०० मिलियन फीमा बार्सिलोनासँग अनुबन्ध भएका थिए। अहिलेको समयमा ग्रिजमनको ट्रान्सफर फीको कारण उनलाई भित्र्याउने क्लब पाउन निकै कठिन रहेको कारण बार्सिलोना अब खेलाडी साट-फेर तर्फ लागेको बुझिएको छ।
यसैबीच रेडियो क्याटालुनियाका अनुसार बार्सिलोनाले सम्भावित खेलाडी सट्टा-पट्टाको लागि म्यानचेस्टर सिटीलाई सम्पर्क गरेको छ। बार्सिलोनाले सिटीलाई ग्रिजमनसँग खेलाडी सट्टा-पट्टा गर्नको लागि सम्पर्क गरेको बताइएको छ। रियाद महारेज, रहिम स्टरलिंग, बर्नाडो सिल्भा र ऐमरिक लापोर्ट: यी चार खेलाडी माथि बार्सिलोनाले चासो देखाएको छ।
तर सिटी प्रशिक्षक पेप ग्वार्डीओला भने यस प्रक्रियाको पक्षमा नरहेको बुझिएको छ। ग्वार्डीओला आफ्नो स्क्वाडलाई एकसाथ राख्न चाहन्छन्। यस्तो अवस्थामा बार्सिलोनाले गरेको आग्रह सिटीले स्वीकार गर्ने सम्भावना निकै न्यून रहेको बुझिन्छ।