काठमाडौँ – नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले एमाले फुटाउन चालिने कुनै पनि कदमको कडा प्रतिवाद गर्ने चेतवानी दिएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बस्नेतले एमाले फुटाउन खोजिए आफूहरु चुप नबस्ने बताएका हुन्।
सरकार परिवर्तन भएपछि गठवन्धनको एक घटकको रुपमा रहेको माधव नेपाल समूहलाई सहज हुने गरी वर्तमान सरकारले अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला महेश बस्नेतको यस्तो चेतवानी आएको हो।
नेता बस्नेतले एमाले फुटाउने अभिप्राय सहित अध्यादेश ल्याइए देशभर आगो बाल्ने चेतावनी दिए। पहिले एमाले बलियो बनाउन ल्याइएको अध्यादेश फेल गराएर अहिले पुनः ल्याउने प्रयास भए आफूहरु चुप नबस्ने उनको चेतवानी छ।
कडा रुपमा प्रस्तुत भएका बस्नेतले भने,”पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ।”
बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भइरहेको प्रति पनि आपत्ति जनाएका छन्। राष्ट्रपति माथि महाभियोग लगाउने सोच नराख्न चेतवानी समेत बस्नेतले दिए।

