काठमाडौँ – निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन्। ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।’ अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए। आफूहरूले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ।
नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताएका छन्। ‘हत्यारा पत्ता लागेको भए त सार्वजनिक गरिहाल्थ्यौं,’ उनले भने, ‘तर अनुसन्धान साँघुरिएर हामी धेरै नजिक पुगेका छौं, यकिन भएको छैन।’ अनुसन्धानका सबै संयन्त्र क्रियाशील भएको उनले बताए।
अनुसन्धानमा तीन टोली सक्रिय
निर्मलाको हत्यारा पत्ता लगाउन सबैभन्दा बढी प्रहरीका अनुसन्धान टोली सुदूरपश्चिममा सक्रिय भए। एकपछि अर्को गर्दै तीन वर्षसम्म निरन्तर प्रहरीका अनुसन्धान टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता न्यौपानेले डिएसपीको नेतृत्वमा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहेको बताए। सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए। निर्मला हत्यामा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई सोधपुछ गरिएको उनको भनाइ छ। ‘६ सयजनालाई त लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ,’ उनले भने, ‘यसैगरी करिब एक सयजनाको डिएनए परीक्षण भएको छ।’ ‘न्याय कसैले दिने होइनन्’
एक महिनाअघि निर्मलाकी आमा दुर्गादेवी छोरीको हत्या घटनाको अनुसन्धानबारे बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘अनुसन्धान भइरहेको’ पुरानै जवाफ दिएको थियो। ‘प्रहरीले हत्यारा खोज्दैछौं भन्ने गरेको तर पत्ता लगाउने जस्तो छैन,’ उनले भनिन्, ‘प्रमाण फेला पर्यो भने पक्राउ गर्छौं भन्छन् तर अहिलेसम्म किन पत्ता लागेन ?’ छोरी मार्नेलाई पत्ता लगाउनुपर्ने आफ्नो माग रहेको उनी बताउँछिन्। ‘अपराधी खोज्ने भए अहिलेसम्म खोजिसक्थे,’ उनले भनिन्, ‘कोही न्याय दिनेवाला होइनन्, अब त आसै छैन।’

