भारत र चीनबाट नेपाल भित्रियो ४७ करोडको गोलभेंडा !

काठमाडौँ – भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै ४७ करोड रुपैयाँको गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र यति धेरै रकम बाहिरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०७७÷७८ को असार मसान्तसम्म छिमेकी मुलुक भारत र चीनलगायत विभिन्न देशबाट नेपालमा कुल ४६ करोड ७५ लाख ६० हजार रुपैयाँको गोलभेंडा आयात भएको छ । विशेषगरी नेपालमा भारतबाट नै सबैभन्दा धेरै टमाटर आयात हुने गरेको छ ।

चीनबाट केही आए पनि अन्य देशबाट भने टमाटर आयात हुँदैन । विभागका अनुसार सो अवधिमा ३६ हजार ४ सय ४३ टनभन्दा बढी टमाटर आयात भएको छ । एक वर्षको अवधिमा टमाटर आयातबाट मात्र सरकारले कुल ४ करोड २४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायत पुगेर कृषि फर्ममा काम गरी त्यहाँको ज्ञान तथा सिप हासिल गरी स्वदेश फर्किएका युवाले सामूहिक तरकारी खेती गर्न थालेसँगै हाल नेपालमा टमाटर उत्पादनमा वृद्धि हुन थालेको छ । तर, स्वदेशी किसानले टमाटर बिक्री गरेर नाफा कमाउनुभन्दा पनि टडेल निर्माणलगायत उत्पादनमा गरेको लगानीसमेत उठाउन सकेका छैनन् ।

प्रकाशित : आइतबार, साउन १०, २०७८०७:१२

२० मन्त्रालयका लागि १ सय ५६ को हानथाप, प्रचण्ड र देउवा दुवै तनावमा !