काठमाडौँ – नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएका छन्। विश्वकप छनौटका लागि नेपालसँग आवद्ध भएका उनले आइतबार राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा दिन लागेको सम्बन्धमा उनले सामाजिक संजाल फेसबुक मार्फत समेत जानकारी हराएका छन्। सामाजिक संजाल मार्फत उनले राजीनामा दिन अखिल नेपाल फुटबल संघ (एन्फा) जान लागेको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिने मनस्थितिमा आफू पुगेको उनको भनाई छ। नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको पनि अल्मुताइरीले फेसबुकमा उल्लेख गरेका छन्।
कतार फुटबल संघको सहयोगमा गत चैत देखि अलमुताइरी राष्ट्रिय टोलीको प्रशिक्षकमा छन्। साफ च्याम्पियन्सिपको तयारीका क्रम राष्ट्रिय टोलीलाई प्रशिक्षण दिरहेका अल्मुताइरीको राजीनामा दिने घोषणाले सबैलाई अचम्मित पारेको छ।
“प्रिय नेपाली समर्थकहरु म राजीनामा दिन एन्फा जाँदै छु। वरिष्ठ उपाध्यक्षको कारणले गर्दा मैले राजीनामा दिने भएको हुँ। गएको तीन साता देखि मलाई नाटक मात्र गरे।”,उनले फेसबुकमा लेखेका छन्।