काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै जनता आफ्नो पक्षमा रहेको दावी गरेका छन्। आइतबार अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई सम्बोधन गर्नेक्रममा ओलीले धेरै जस्तो नेपाली जनता आफ्नो पक्षमा रहेको दावी गरेका हुन्।
ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताए। केहि दर्जन मानिस बारे अरु सबै आफ्नो पक्षमा रहेको ओलीको भनाई छ।
“केपी ओलीको साथमा रहेको दुई-चार जनाको झुन्ड होइन। देशको सबभन्दा बढी जनसंख्या नेकपा (एमाले)को साथमा छ, देशको सबभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ।”,ओलीले भने।
बाटो बिराएकालाई फर्कन आग्रह
त्यस्तै ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह पनि गरेका छन् । अखिल नेपाल महिला संघ (अनेम संघ) को सचिवालयको प्रथम बैठकलाई आइतबार भर्चुअल रुपमा सम्बोधन गर्दै उनले बाटो बिराएकालाई फर्केर आउन आग्रह गरे।
‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ,’ उनले भने, ‘पार्टीलाई स्वार्थ र बिकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्, परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।’ अध्यक्ष ओलीले पार्टीलाई नमुना बनाइ सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।’
अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । ‘एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै,’ उनले भने, ‘न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।’

