एम्बाप्पे रियलमा, रोनाल्डो पीएसजीमा, ग्रिजम्यान युभेन्टसमा ?

एजेन्सी – युवा स्टार किलियन एम्बाप्पेले सम्झौता नविकरण नगर्ने स्पष्ट पारेसँगै फुटबल वृत्तमा एक प्रकारको तरंग पैदा भएको छ। एम्बाप्पेको उक्त निर्णयसँगै उनलाई क्लबमै अड्याउने पेरिस सेन्ट जर्मन(पीएसजी)को योजनामा ठूलो धक्का पुगेको छ।

एम्बाप्पेलाई जुनै पनि हालतमा क्लबमै अड्याउन पीएसजीले गरेका सम्पूर्ण प्रयास असफल भएका छन्। क्लबले एम्बाप्पेलाई कुनै पनि हालातमा बिक्री नगर्ने योजना बनाएको भएपनि अब आएर उसले योजनामा केहि परिवर्तन गर्नुपर्ने भएको छ। अब पीएसजीले एम्बाप्पेलाई सम्झौता नसकिएसम्म क्लबमै राख्नुपर्नेछ कि एम्बाप्पेलाई तत्कालै बिक्री गर्नपर्नेछ।

एम्बाप्पे माथि युरोपका ठूला सबै क्लबको नजर रहेपनि स्पेनिस महारथी रियल म्याड्रिडले सबै भन्दा बढी प्राथमिकतामा राखेको छ। पीएसजी आर्थिक रुपमा केहि लचिलो भएको खण्डमा एम्बाप्पेको ट्रान्सफर यहि समरमा हुन सक्छ।

यदि एम्बाप्पेको ट्रान्सफर यहि समर विन्डोमा सफल हुन सकेको खण्डमा पीएसजीको नजर युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो तर्फ मोडिनेछ। रोनाल्डो माथि पीएसजीले नजर लागिरहेको कुरा कुनै नौलो होइन। पछिल्लो केहि समय देखि रोनाल्डो माथि पीएसजीले लगातार चासो लिरहेको छ।

एम्बाप्पेलाई बिक्री गर्न सकेको खण्डमा रोनाल्डो अनुबन्ध गर्न पीएसजीले हरसम्भव प्रयास गर्ने खेल मिडियाहरु बताउँछन्। रोनाल्डो पीएसजी पुगे युभेन्टस स्टार स्ट्राइकर विहिन हुनेछ। त्यस्तोमा युभेन्टसले बार्सिलोनाका एन्टोइन ग्रिजम्यानलाई भित्र्याउने सम्भावना बढ्नेछ। एन्टोइन ग्रिजम्यानलाई बार्सिलोनाले यहि ट्रान्सफर विन्डोमा बिक्री गर्न जोड-तोड गरिरहेको छ।

यस अर्थमा एम्बाप्पे, रोनाल्डो र ग्रिजम्यानको ट्रान्सफर एकअर्कासँग सम्बन्धित रहेको मान्न सकिन्छ। एम्बाप्पे रियल गए रोनाल्डो पीएसजी जानेछन्, रोनाल्डो पीएसजी गए ग्रिजम्यान युभेन्टस पुग्नेछन्।

प्रकाशित : आइतबार, साउन १०, २०७८१७:१३

“हालाण्ड विश्व स्तरीय खेलाडी हैनन्, एम्बाप्पेमा उनमा भन्दा बढी क्षमता छ”