हेड काउन्ट हुँदै, ठाकुर पक्षका सांसदहरुको पद धरापमा !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ । सांसद पद जोगाउनका लागि महन्थ ठाकुरले पनि ४० प्रतिशत पुर्याउनुपर्छ वा जसपामै रहेर मात्रै सांसद पद जोगिने छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

निर्वाचन आयोगले गठन गरेको इजलासले हेड काउन्ट गर्ने भनी आयोगमा नागरिकताका साथमा कार्यकारिणी सदस्यहरुलाई उपस्थित हुन जसपाका महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई आदेश दिएको छ । साउन ११ गतेका लागि कार्यकारिणी सदस्यहरुलाई बोलाइएको छ । उपेन्द्र यादवसँग कार्यकारिणी समितिको बहुमत छ । पछिल्लो सूचनाअनुसार ५१ सदस्यीय मध्ये ३३ जना सदस्य उपेन्द्र यादवको पक्षमा छन् ।

बहुमत उपेन्द्र यादवको पक्षमा हुने निश्चित भएपछि महन्थ ठाकुर पक्षमा रहेका संघीय सांसद र प्रदेश सांसदको पद धरापमा परेको हो । निर्वाचन आयोगमा पूर्वप्रमुख आयुक्त आयोधी प्रसाद यादवका अनुसार हेड काउन्टपछि एउटा पक्षले पार्टीको आधिकारिकता पाउँछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गराउन भन्छ । नयाँ पार्टी दर्ता गराउने पक्षमा रहेका सांसदहरुको पद स्वतः जान्छ ।

यो व्यवस्था राजनैतिक दल सम्बन्धी ऐन २०७३ मा उल्लेख छ । सो ऐनको दफा ३२ अनुसार निज आफैंले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिनेछ । दफा ३१ अनुसार कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दल त्याग गर्न सक्ने छैन ।

कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ भनि सो दफामा उल्लेख गरिएको छ ।

यद्यपि महन्थ ठाकुरले पार्टीमा अझै ४० प्रतिशत पुर्याएर निर्वाचन आयोगमा पेस गर्ने तयारी गरिरहेका छन् तर सो प्रतिशत पुग्ने सम्भावना एकदमै कम रहेको छ । यता, सर्वोच्च अदालतमा उनले रिट पनि दायर गर्न लगाएका छन् । आयोगले हेडकाउन्ट गर्ने भनि आदेश दिएपछि जसपाका अध्यक्ष ठाकुरले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । त्यसको बहस सकिएको छ । अदालतले ठाकुर पक्षले मागेकोजस्तो परमादेश नदिएर दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

महन्थ ठाकुर पक्षमा स्वयं ठाकुर आफैं प्रतिनिधिसभा सदस्य हुन् । राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मियाँ, लक्ष्मणलाल कर्ण, निर्जला राउत, चन्दा चौधरी, उमाशंकर अरगरिया, विमलप्रसाद श्रीवास्तव संघीय सासद हुन् । त्यस्तै, प्रदेश सांसदहरु जितेन्द्र प्रसाद सोनार, डा.डिम्पल झा, सुरेश मण्डल, अभिराम शर्मा, परमेश्वर साह, उपेन्द्र महतोसहित १७ जना सांसद छन् । उनीहरुले जसपा छाडेर नयाँ पार्टी गठनमा संलग्न भए भने संसद पद जान्छ ।

यद्यपि संघीय तथा प्रदेश सांसदमध्ये को जसपामा बस्ने र कसले नयाँ पार्टी गठनमा सहभागी हुने कुराको अहिले निश्चित भएको छैन । सोमबार पार्टीको आधिकारिकता प्राप्त भइसकेपछि सांसदहरु को कता जाने निर्णय गर्नेछ । आफ्नो सांसद पद जोगाउनका लागि भएपनि अधिकांश सांसद जसपामा जाने देखिएको छ ।

यादव पक्ष रिसोर्टमा
निर्वाचन आयोगले कार्यकारीणी सदस्यहरुलाई सशरीर उपस्थित हुन निर्देशन दिएपछि उपेन्द्र यादव पक्षले त्यसको तयारी गरेको छ । आयोगले सोमबारका लागि सबै कार्यकारिणी सदस्यहरुलाई बोलाएको छ । त्यसको अघिल्लो दिन आइतबार उपेन्द्र पक्षले आफूनिकट कार्यकारीणी सदस्यलाई ललितपुरको एक रिसोर्टमा राखेर प्रशिक्षण दिएका छन् । आफ्नो पक्षमा बहुमत (३२ जना) कार्यकारीणी सदस्य रहेको सो पक्षको दाबी छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको समर्थनका लागि महन्थ पक्षले आफ्ना निकटका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणीमा बहुमतका लागि २६ जना आवश्यक पर्छ । सोमबारको बैठकमा ३२ जना सदस्य उपस्थित रहेको यादव पक्षको दाबी छ ।

प्रकाशित : सोमबार, साउन ११, २०७८०८:५९

संसदीय समितिमा यसरी भएको थियो चर्काचर्की !