पूर्व बार्सिलोना तथा अर्जेन्टिनी प्रशिक्षक सेजार लुइस मेनोटी अर्जेन्टिनी जोडी मेस्सी र अगुएरोलाई बार्सिलोनामा देख्न पाउँदा निकै खुसी देखिन्छन्। उनका अनुसार क्याटालान क्लबमा अर्जेन्टिनी स्ट्राइकर अगुएरोले पूर्व बार्सिलोना स्ट्राइकर लुइस सुवारेजको स्थान लिनेछन्।

२०२० को समरमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोमनको योजनामा फिट नभएको भन्दै बार्सिलोनाले लुइस सुवारेजसँगको सम्झौता खारेज गरेको थियो। जसपश्चात् बार्सिलोनालाई ठूलो धक्का पुगेको थियो जब सुवारेजले गत सिजन एथलेटिको म्याड्रिडबाट खेल्दै लालिगा उपाधि जित्न सफल भए।

म्याड्रिडका लागि उरुग्वेयन स्ट्राइकरले लिग विजयी गोल गर्दै गर्दा बार्सिलोनालाई भने प्रमाणित गोल स्कोरिंग खेलाडीको कमी पूरा सिजन नै खल्यो। जसको कारणले यहि समरमा क्लबले अर्का प्रमाणित स्ट्राइकर अर्जेन्टिनी सर्जियो अगुएरोलाई फ्री-एजेन्टका रूपमा क्लबमा अनुबन्ध गरायो। अगुएरोले सुवारेजको स्थान लिने आशाका साथ क्लबले सिटी दिग्गजलाई क्लबमा भित्र्याएको छ।

सुपर डिपोर्टिभो रेडियोसँग कुरा गर्दै पूर्व बार्सिलोना तथा अर्जेन्टिनी प्रशिक्षकले भने,”मेस्सी सुवारेजका निकै प्रिय मित्र थिए। मैले अझै पनि बुझ्न सकेको छैन कि बार्सिलोनाले उनलाई कसरी जना दियो। अब मेस्सीसँग अगुएरो छन्, जो मेस्सीका अर्का प्रिय मित्र हुन्। उनीहरु बीच सधैं निकै राम्रो सम्बन्ध छ।”

३४ वर्षीय बार्सिलोना लेजेण्ड क्लबमा अगुएरोको आगमनले निकै खुसी रहेको र उनीसँग क्लबमा निकै खुसी रहने पनि उनले स्पष्ट परे। गत जुन ३० देखि क्लबसँग सम्झौता सकिएका मेस्सी हाल फ्री-एजेन्ट रहेका छन्। तर उनले बार्सिलोनासँग थप ५ वर्षको लागि नयाँ सम्झौतामा हस्तक्षर गर्ने पक्का भएको बुझिएको छ।

के मेस्सी-अगुएरोको जोडी मेस्सी-सुवारेजको जोडी जस्तै जम्ला त ? के अगुएरोले लुइस सुवारेजले बार्सिलोनामा छाड्ने स्थान लिन सक्लान् त ?

