एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली सेन्टरब्याक राफयल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । लामो समय देखि भरान युनाइटेड जाने चर्चा भैरहेकोमा अहिले आएर उनको ट्रान्सफर सम्भव भएको हो।
भरान गएको १ दर्शक देखि रियलमा थिए। म्यानचेस्टर युनाइटेडले २८ वर्षीय भरानलाई ३४ मिलियन पाउन्ड र ७ मिलियन बोनस गरी ४१ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको बताइएको छ। सम्झौतामा थप १ वर्ष थप गर्ने विकल्प समेत रहेको छ।
ट्रान्सफरको विषयमा दुवै पक्ष सहमत भएपछि भरानले इंग्ल्याण्ड जाने तयारी थालेका छन्। आफू मात्र नभई परिवारका अन्य सदस्यको समेत भिसा प्रक्रिया सकिएपछि उनी इंग्ल्याण्ड प्रस्थान गर्नेछन्।
एम्बाप्पे योजनामा एउटा खुड्किलो
रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन(पीएसजी)का स्टार खेलाडी किलियन एम्बाप्पे अनुबन्ध गर्न खोजेको धेरै भैसक्यो। एम्बाप्पेलाई भित्रयाउनैका लागि रियलले गएको सिजन देखि कुनै पनि ट्रान्सफरमा खर्च गरेको छैन।
आर्थिक जोहोमा जुटेको रियललाई भरानको ट्रान्सफरले थप सहयोग पुर्याउने भएको छ। भरानको ट्रान्सफरबाट रियलले ४१ मिलियन पाउण्ड एम्बाप्पे ट्रान्सफरमा काम आउने ट्रान्सफर मार्केट जानकारीहरु बताउँछन्।
सर्जियो रामोसको बहिर्गमनले समेत रियललाई फाइदा पुर्याएको छ। रामोस अन्यत्र गएका कारण रियलको १५ मिलियन युरो समेत जोगिने भएको छ। उक्त रकम रामोसले पारिश्रमिकको रुपमा बुझ्ने गरेका थिए।

