एर्लिंग हालाण्डले २१ वर्षको उमेरमा नै आफ्नो क्षमताका साथ पूरा विश्वलाई चकित परेका छन्। यु-२० विश्वकपको एकै खेलमा ९ गोल गर्नु होस् वा साल्सबर्गबाट खेल्दै च्याम्पियन्स लिगमा आगो लगाउनु होस्, यी सबै कुराले हालाण्ड साधारण खेलाडी मात्र हैन भन्ने प्रमाणित हुन्छ।

तर २०२० मा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग अनुबन्ध भएर उत्कृष्ट प्रदर्शन गर्दै आफू उच्च स्तरमा पनि टप प्रदर्शन गर्न सक्ने देखाएपछि मात्र उनले सारा युरोपका ठूला क्लबको ध्यानाकर्षण गर्न सफल भए। जर्मन क्लबमा उनको तथ्यांक कुनै साधारण छैन। उनले डर्टमण्डका लागि ५९ खेलमा ५७ गोल गरिसकेका छन्।

युरोपियन फुटबलमा हालाण्डको उदयसँगै धेरै मानिसले नर्वेजियन स्ट्राइकर र फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे पछिल्लो १५ वर्ष देखि चल्दै आएको मेस्सी-रोनाल्डो भिडन्तको उत्तराधिकारी भएको बताउन थालेका छन्। अहिले नै उनको करियरको बारेमा भविष्यवाणी गर्न त सकिँदैन तर पनि उनले आफ्नो छोटो युवा करियरमा जे गरेका छन् त्यसलाई पनि नकार्न भने मिल्दैन।

हालाण्डको तथ्यांक अन्य खेलाडीसँग तुलना गर्दा
स्पेनिस पत्रिका मार्काले डर्टमण्ड स्ट्राइकरको २१ औं जन्मदिनको उपलक्ष्यमा उनको तथ्यांक अन्य उत्कृष्ट खेलाडीसँग तुलना गरेको छ। सबै खेलाडीको तथ्यांक उनीहरु २१ वर्षको उमेर हुँदाको रहेको छ। मार्काको हिसाब अनुसार हालाण्डले अहिलेसम्म क्लब र देशका लागि १६४ खेलमा ११३ गोल गरिसकेका छन्। उनले दुई ओएफबी कप, दुई अट्रियन बुन्डेसलिगा र एक डीएफबी पोकाल कप पनि जितेका छन्।

उनको यो अविश्वसनीय तथ्यांकको अगाडी दुई महान खेलाडी मेस्सी र रोनाल्डोको तथ्यांक पनि फिक्का देखिन्छ। २१ वर्षको उमेर लाग्दा सम्म मेस्सीले कुन ५६ गोल गर्न सफल भएका थिए भने रोनाल्डोले ३६ गोल गरेका थिए। तर हालाण्डको गोल सङ्ख्या कसैले पछि पार्नै नसक्ने भने छैन।

एर्लिंगका युवा प्रतिद्वन्दी फ्रेन्च स्टार किलियन एम्बाप्पे र ब्राजिलियन दिज्जाग पेले भने २१ वर्षीय युवा स्टार भन्दा अगाडी रहेका छन्। सो उमेरमा एम्बाप्पेले मोनाको, पीएसजी र फ्रान्सका लागि कुल ११८ गोल गरेका थिए। तर यी दुई युवा स्टार ब्राजिलियन लेजेण्ड पेलेको आसपास पनि छैनन्। ३ पटकका विश्व विजेता पेलेले २१ वर्षको उमेरमा २८२ गोल गरिसकेका थिए।

तर पेलेको नम्बर अविश्वसनीय भएको मतलब यो हैन कि हालाण्डको उपलब्धि सानो हो। उनले युवा उमेरमा नै निकै सफलता प्राप्त गरिसकेका छन् र आउँदो समयमा पनि उनको नाममा सयौं रेकर्डहरु टुट्नेमा कुनै शंका छैन।

