रोनाल्डो, मेस्सी लगायत यी ६ दिग्गजको अन्तिम विश्वकप हुनेछ २०२२ विश्वकप !

२०२२ मा हुने कतार विश्वकपको समाप्तिसँगै फुटबल जगतले सायद फुटबलको एक सुनौलो पुस्तालाई बिदा गरिरहेको हुनेछ। आज हामी विश्व फुटबलका यस्ता ६ दिग्गज खेलाडीको बारेमा कुरा गर्ने छौं जसको लागि २०२२ विश्वकप सम्भवत अन्तिम हुनेछ।

६. लुका मोड्रीच 

२०१८ ब्यालुन डी ओर विजेता रियल म्याड्रिड स्टारले पूरा एक दशक आफ्नो राष्ट्रको जिम्मेवारीलाई काँधमा बोक्दै आएका छन्। क्रोएशियालाई २०१८ विश्वकपको फाइनलसम्म पुर्याउनको लागि मुख्य भूमिका खेलेका मोड्रीच अहिले ३५ वर्षका भइसकेका छन्। २०२२ विश्वकप उनका लागि अन्तिम विश्वकप हुने पक्का जस्तै छ। यस्तोमा कतारमा हुने विश्वकपमा उनलाई सुखद बिदाई दिने प्रयासमा पूरा क्रोयेशियाली टोली रहनेछ।

५. लुइस सुवारेज 

विश्वकपको इतिहासमा सबैभन्दा विभाजक व्यक्तित्व मध्ये एक, लुइस सुवारेज दुई ठूला विवादहरूको केन्द्रमा रहेका थिए। २०१० मा, उनले जानाजानी गरेको ह्यान्ड बलले उरुग्वेलाई सेमीफाइनलमा पुर्‍यायो भने २०१४ विश्वकपमा उनले इटालियन डिफेन्डर किएलिनीलाई टोकेपछि पुनः एकपटक चर्चाको विषय बनेको थियो। आफ्नो पुस्ताका सर्वोत्कृष्ट स्ट्राइकर मानिने उनको लागि पनि २०२२ विश्वकप अन्तिम हुनेछ।

४. सर्जियो रामोस 

चोटका कारण स्पेनको २०२० युरो स्क्वाडबाट बाहिरिएका स्पेनिस डिफेन्डर २०२२ विश्वकपका लागि भने फर्किने धेरैले आशा गरेका छन्। स्पेनका लागि सबैभन्दा बढी खेल खेलका रामोस स्पेनिस इतिहासकै सर्वोत्कृष्ट डिफेन्डर हुन्। २००६ विश्वकपका रूपमा पहिलो प्रमुख प्रतियोगिता खेलका रामोसले स्पेनका लागि २००८ र २०१२ युरोकप जित्नुका साथै २०१० मा विश्व विजेता बनेको स्पेनिस टोलीका प्रमुख सदस्य मध्ये एक थिए।

४. ज्लाटान इब्राहिमोभिक 

साच्चै भन्नु पर्दा २०२२ विश्वकपपछि ज्लाटानले विश्वकप हैन विश्वकपले ज्लाटान गुमाउनेछ। यस सूचीमा रहेका खेलाडी मध्ये सबैभन्दा जेठा उनको लागि पनि २०२२ विश्वकप अन्तिम हुने पक्का छ। उनी २०२२ विश्वकपमा खेल्ने एक मात्र यस्ता खेलाडी हुनसक्छन् जसले २००२ विश्वकपमा सहभागिता जनाएका थिए। उनी कतार विश्वकपमा खेल्ने सबैभन्दा बुढा खेलाडी मध्ये एक हुनेछन्। अन्तिम पटक २००६ मा विश्वकप खेलेका ज्लाटानको टोली आउँदो विश्वकपमा छनौट हुने प्रवल सम्भावना रहेको छ। २०१० र २०१४ मा छनौट हुन असफल स्विडेन २०१८ मा छनौट हुन सफल भएता पनि इब्रा उक्त टोलीका सदस्य थिएनन्।

२. लियोनल मेस्सी 

मेस्सीको उत्कृष्ट करियरमा एक मात्र कमी भनेको विश्वकप उपाधि हो। २०१४ मा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका मेस्सी फाइनलमा जर्मनीसँग पराजित भए। २०१८ विश्वकप भने उनका लागि त्यति खास रहेन। यस सूचीमा सबैभन्दा कान्छा खेलाडी भएता पनि कतार विश्वकप उनको करियरको अन्तिम विश्वकप हुनसक्छ। कोपा अमेरिका च्याम्पियन बनेका मेस्सी उच्च मनोबलका साथ २०२२ विश्वकपमा जानेछन्।

१. क्रिस्टियानो रोनाल्डो 

फुटबल इतिहास कै सर्वाधिक गोलकर्ता पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको लागि पनि २०२२ को विश्वकप अन्तिम हुनेछ। २००६ मा पोर्चुगललाई सेमी-फाइनलसम्म पुर्याउनको लागि महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो उक्त प्रतियोगिताका खोज थिए। जसपश्चात् उनी विश्वकपको अन्तिम १६ बाट अगाडी बढ्न सकेका छैनन्। तर २०२२ मा रोनाल्डोको टोलीमा युवा र अनुभवको राम्रो मिश्रण हुनेछ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१२:४०

किन ढिला भैरहेछ मेस्सी र बार्सिलोना बीच सम्झौता हुन ?