पूर्व अर्जेन्टिनी खेलाडी तथा प्रशिक्षक सेजार लुइस मेनोटीका अनुसार अर्जेन्टिनी दिग्गज डिएगो म्याराडोना जिवितै भएको भए लियोनल मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि जितमा उनी भन्दा खुसी कोहि पनि हुने थिएनन्। उक्त क्षणमा म्याराडोना भएको भने निकै गर्भ महशुस गर्ने उनले बताए।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्न सफल भयो। सन् १९९३ पछि अर्जेन्टिनाले प्रमुख प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो। अर्जेन्टिनाको रेडियो भिला त्रिनिडाडमा बोल्दै मेनोटीले गत वर्ष नभेम्बरमा स्वर्गीय भएका म्याराडोना अर्जेन्टिनाले उपाधि जितेको देखेको भए अत्यन्त खुसी हुने बताए। मेस्सीको हातमा ट्रफी देख्न पाएको भए म्याराडोनाको आँखामा आँसु आउने जिकिर उनले गरे।

“डिएगो अझै पनि हामी सँगै भएका थिए, अर्जेन्टिनाले उपाधि जितेको देखेका भए निकै खुसी हुन्थे। उनको आँखामा खुसीका आँसु हुन्थे होला र मेस्सीको अँगालोमा हुन्थे,” मेनोटीले भने। पूर्व अर्जेन्टिनी अन्तराष्ट्रियले मेस्सीको कप्तानीको पनि प्रशंसा गर्दै ३४ वर्षीय अर्जेन्टिनी कप्तानले युवा टोलीलाई सहि दिशा देखाएको भन्दै मेस्सीको खुलेर तारिफ गरे।

त्यस्तै, उनले अर्जेन्टिनी जोडी मेस्सी र अगुएरोलाई बार्सिलोनामा देख्न पाउँदा निकै खुसी रहेको समेत बताए। मेस्सीले गत सिजन सुवारेजको कमी महशुस गरेको भन्दै मेस्सी र बार्सिलोनाका लागि अगुएरोले सुवारेजको स्थान लिनेमा उनी विश्वस्त रहेका छन्।

