काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय सांसदहरुसंग छलफल गरेका छन्। नेता नेपालले बुधबार आफू पक्षका सांसदहरुसंग राजधानीको बुद्धनगरमा छलफल गरेका हुन्।
गठवन्धनको एक घटक समेत रहेको माधव नेपाल पक्षमा पछिल्लो समय सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा अन्योलता रहेको छ। पार्टी भित्रको विवाद समाधानका लागि भैरहेका प्रयासका बीच माधव नेपाल पक्षको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
समसामयिक विषयमा रणनीति बनाउन बैठक बसेको माधव नेपाल पक्षका नेताहरुको भनाई छ। बुधबारको बैठकमा उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेको बताइएको छ।
छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित रहेका थिए। देउवालाई विश्वासको मत दिएका २२ सांसद मध्ये तीन जना बैठकमा सहभागी भएनन्। तीनै जना उपत्यका बाहिर भएका कारण बैठकमा सहभागी नभएको माधव नेपाल पक्षका सांसदहरु बताए।
सरकारमा सहभागी नहुने हल्ला गलत
माधव नेपाल पक्षका सांसदका अनुसार माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने हल्ला गलत रहेको बताएका छन्। बाहिर खबर आए जस्तो निर्णय भैनसकेको एक सांसदले बताए। आफूहरु सबै एक रहेको र सरकारमा सहभागी नहुने भनेर निर्णय नगरेको ती सांसदको भनाई छ।

