बार्सा खेलाडी रिकी पुजलाई आफू जस्तो देखिएपछि भानपर्सीले भने-“ल छोरा, राम्रो खेल्नु !”

बार्सिलोनाका युवा खेलाडी रिकी पुजको हालसालैको एक फोटो अहिले खुब भाइरल भएको छ। मानिसहरुले पुजको उक्त फोटोलाई युवा समयको पूर्व डच खेलाडी रोबिन भानपर्सीसँग तुलना गरिरहेका छन्। के तपाईंलाई पनि पुजको उक्त फोटो भानपर्सी जस्तै लाग्छ ?

२१ वर्षीय स्पेनिस मिडफिल्डर अहिले बार्सिलोनाको प्रि-सिजन ट्रेनिङमा रहेका छन्। क्याटालान क्लबले १५ अगस्टमा सिजनको पहिलो खेल रियल सोसीडाडसँग खेल्नेछ। गत सिजन सबै प्रतियोगितामा मात्र २४ खेल खेलका पुज यो सिजन प्रशिक्षक रोनाल्ड कोमनको विश्वास जित्ने दाउमा रहेका छन्। बार्सिलोनाले २०१९ पछि पहिलो लिग उपाधि जित्ने लक्ष्यका साथ नयाँ सिजनको सुरुवात गर्नेछ।

एन्टोइन ग्रिज्मन, फ्र्यांकी डी जोंग जस्ता स्टार खेलाडी सामेल भएको प्रशिक्षण सत्रमा पुजको क्यामरामा हेरेर हाँसेको फोटोले तहल्का मच्चाउला भनेर स्वयम् पुजले पनि सोचेका थिएनन् होला। बार्सिलोनाको आधिकारिक ट्वीतर अकाउन्टबाट पोस्ट गरिएको उक्त फोटो सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ।

स्पेनिस यु-२१ खेलाडी पुजको उक्त फोटो इन्टरनेटमा पोस्ट हुना साथ मानिसले उक्त फोटोलाई युवा बेलाको भानपर्सीसँग तुलना गर्न सुरु गरे। केहिले त पुजले प्रशिक्षक रोनाल्ड कोमनलाई प्रभावित पार्नको लागि पूर्व आर्सनल तथा म्यानचेस्टर युनाइटेड स्ट्राइकर जस्तो बन्न खोजेको भन्दै मजाक समेत गरेका छन्।

युवा मिडफिल्डरको उक्त फोटो देखेर स्वयम् भानपर्सीले समेत लेखे,”यो सिजनको लागि गुड लक, छोरा।” सामाजिक सञ्जालमा अहिले थुप्रै मानिसले उक्त फोटोमा आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित : बिहिबार, साउन १४, २०७८१४:३५

“चिल्ली, इक्वेडर र बोलिभिया विरुद्ध ४ गोल गरे भन्दैमा मेस्सीलाई ब्यालुन डी ओर दिने ? कस्तो समय आयो यो”