काठमाडौँ – पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें। ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ। स्पष्टीकरण पठाउनुपर्दैन भन्ने खबर आएको छ रे। तर स्पष्टीकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ’, उनले भनेका थिए।
त्यही दिन एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरे। त्यसपछि नेपालको मनस्थिति फेरियो। ‘ओलीले एमनेस्टी इज ग्रान्टेड भनेपछि पनि नेता नेपालले खासै वास्ता नगरी विवाद मिलाउने विषयमै छलफल गरिरहनुभएको थियो तर साँझ भिडियो हेर्दा ओलीले अपराधीलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि उहाँको मुड परिवर्तन भयो, अब ओलीलाई विश्वास गर्ने आधार सकियो भन्न थाल्नुभयो’, नेपाल निकट एक नेताले भने।
स्रोतका अनुसार ७ गतेकै आसपासमा ओली र नेपालबीच संवादको तयारी भइरहेको थियो। कार्यदलमा रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेले त्यसको चाँजोपाँजो मिलाइसकेका थिए। ७ गते बिहान पुष्पलाल स्मृति दिवस मनाउन जाँदा नेपालको साथमा सुरेन्द्र पाण्डे पनि थिए। त्यस दिन नेपालले ‘आफूले बनाएको घर छाडेर जान पनि गाह्रो, अपमान सहेर बस्न पनि गाह्रो’ भनेका थिए।
त्यसअघि बालुवाटारबाट निजी निवास सर्नेक्रममा नेपालबाहेक सबै नेतालाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओलीले एक हप्तामै संवादका लागि तयार रहेको भन्दै दोस्रो अध्यक्ष बन्न नेपालसमक्ष प्रस्ताव पठाएका थिए। दोस्रो अध्यक्षको प्रस्ताव आएपछि नेपालले विधान संशोधन गर्नुपर्ने र बराबरी अधिकारको विषय उठाउँदा त्यसमा पनि ओलीले सकारात्मक जवाफ पठाएका थिए।
सर्वोच्च अदालतले असार २८ मा प्रधानमन्त्रीबाट हटाएपछि ओलीले ३० असारमा माधव नेपाललाई गद्दार घोषणा गर्दै पार्टीभित्र कुनै स्थान नभएको बताएका थिए। त्यसपछि स्थिति झनै बिग्रिएको थियो। तर पछि सम्बन्ध सुधारिँदै गएको र नेपाल समूहलाई सोधिने भनेको स्पष्टीकरण पत्र पनि नपठाउने समझदारी भएको थियो। तर पत्र पठाइयो। त्यसपछि पनि ओलीले नेता भीम रावलसँग आफूलाई थाहै नदिई पत्र पठाइएको बताउनाले नेपाल सकारात्मक नै थिए। ‘अब ठीकै छ। संसद् जोगाउनु हाम्रो मिसन हो। यसलाई जोगाएर संसद्को पूरा कार्यकालपछि चुनावमा जानुपर्छ,’ ७ गते दिउँसो नेपालसँगै रहेका एक केन्द्रीय सदस्यले उनलाई उद्धृत गरे।
तर साँझ ओलीको सम्बोधनको पूरै भिडियो हेरेपछि नेपालले भने, ‘भो अब ओलीले अपराधी करार गरिसकेछन्। उनका अगाडि हामी अपराधी भइसकेपछि उनले त्यहाँ गर्ने व्यवहार पनि अपराधीसरह हुने हो। यसकारण अपमान सहेर जान सकिन्न। साथीहरू कसकसलाई जान मन छ गए हुन्छ।’ साउन ७ पछि नेपाललाई मनाउन कठिन भइरहेको उनीनिकटका एक नेताले बताए।
साउन ६ गते नेता नेपालले सम्मानजनक पार्टी एकताको पक्षमा लाग्ने जानकारी गराएका थिए। तर त्यसकै भोलिपल्ट ओलीको ‘क्षमादान’को कुरा आएपछि नेता नेपालले अब ओलीबाट पार लाग्दैन भन्ने निष्कर्ष निकालेका थिए। ‘हामीलाई त ओलीले ठूलै अपराधी करार गरेर पो माफी दिन लागेका रहेछन्। यस्तो अवस्थामा कसरी विवाद निरूपण हुन्छ ? साथीहरूलाई चित्त बुझ्छ भने मैले के भनौं र। तर ओलीले गर्ने व्यवहार त देखाइगए’, नेपालले निकटका नेता र कार्यदलका सदस्यसँग भनेका थिए। त्यसयता ओली–नेपालबीच संवाद गराउन अनेकन पटक प्रयास गरिएको थियो तर सम्भव भएको छैन। यसबीचमा दुवै पक्षले एकताविरोधी गतिविधि नगर्ने भनिए पनि रोकिएका छैनन्। ७ गतेपछि नेता नेपाल दिनहुँजसो आफ्ना समूहका नेता–कार्यकर्तासँग संवादमा छन्। उनले ओली पक्षबाट आएको प्रस्ताव र व्यवहारबारे छलफलका साथै सुझाव संकलन गरिरहेका छन्।

