ड्रिम टिम बनाउने दाउमा रियल: यो सिजन हालाण्ड, अर्को सिजन एम्बाप्पे अनुबन्ध गर्ने तयारी !

स्पेनिस क्लब रियल म्याड्रिडले यो सिजन पीएसजी स्टार किलियन एम्बाप्पेलाई अनुबन्ध नगरेको खण्डमा एर्लिंग हालाण्डलाई क्लब भित्र्याउने र अर्को वर्ष एम्बाप्पेलाई फ्री-ट्रान्सफरमा लेराउने योजना गरिरहेको छ। तर अझै पनि रियलको प्रमुख टार्गेट भनेको फ्रेन्च युवा स्टार एम्बाप्पे नै रहेको बुझिएको छ।

पीएसजीसँग २०२२ मा सम्झौता अन्त्य हुने एम्बप्पेले फ्रेन्च महारथीसँग सम्झौता नवीकरण गर्ने संकेत देखाएका छैनन्। यस्तोमा पीएसजी पनि आफ्ना सबैभन्दा मूल्यवान खेलाडी सित्तैमा गुमाउन चाहँदैन। विगत २ वर्षदेखि एम्बाप्पे ट्रान्सफरको तयारी गरिरहेको रियल म्याड्रिड यदि एम्बाप्पे १५० मिलियनमा उपलब्ध भए क्यास-इन गर्न तयार रहेको छ। रफाएल भारान म्यानचेस्टर युनाइटेडसँग ५५ मिलियनमा अनुबन्ध भएसँगै रियलको आर्थिक स्थिति मजबूत भएको हो।

क्लब अध्यक्ष फियोरेन्टिना पेरेज एम्बाप्पे ट्रान्सफरका लागि पर्याप्त रकम जुटाउन अझै ड्यानी सेबालस, मार्टिन ओडेगार्ड, लुका जोभिक जस्ता खेलाडी बेच्ने तयारीमा रहेका छन्। पर्याप्त रकम भएपनि रियल म्याड्रिडले २२ वर्षीय स्टार बेच्न पीएसजीलाई दबाब भने नदिने बुझिएको छ। जसको कारण विश्वकप विजेता एम्बाप्पे यहि सिजन रियल आउने निश्चित भने छैन।

किलियन क्लब नआएको खण्डमा रियल म्याड्रिडले प्लान-बी पनि तयार पारीरहेको मार्काले जनाएको छ। स्पेनिस पत्रिका मार्काको एक रिपोर्टका अनुसार यो सिजन एम्बाप्पे ट्रान्सफर सफल नभएमा क्लबले बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्डलाई टार्गेट गर्नेछ र अर्को सिजन एम्बाप्पेलाई फ्री-ट्रान्सफरमा क्लब लेराउने योजनामा रहेको छ।

के रियलको यस्तो योजना सफल होला त ? के फुटबल समर्थकले एम्बाप्पे-हालाण्डको ड्रिम डुओ एकसाथ एकै क्लबबाट खेलेको देख्न पाइइला त ?

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१४:२२

ओलाम्पिलमा तहल्का मच्चाइरहेका रिचार्लीसन माथि रियलको नजर !