काठमाडौँ – गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा परेको छ। गत हप्ता मात्र रिलिज भएको गीत विवादमा परेको हो।
गीतमा प्रयोग भएका शब्दहरुलाई लिएर दुर्गेशको सामाजिक संजाल देखि मिडिया सम्ममा आलोचना भएको छ। तीजको मर्म माथि प्रहार गर्ने शब्दहरु गीतमा रहेको भन्दै दुर्गेशलाई कारवाही गर्ने धेरैले सामाजिक संजालमा माग गरेका छन्।
गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरेको टिप्पणी भइरहेका बेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई सचेत गराएको खुलेको छ।
प्रतिष्ठानले दुर्गेशका नाममा पत्र काटेर सचेत गराएको हो। दुर्गेशले गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्र काटेपछि दुर्गेशले अटेरी गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको भनाई छ।
पटक-पटकको आग्रह दुर्गेशले नमानेपछि प्रतिष्ठान एक्सनमा जाने भएको छ। त्यससम्बन्धमा निर्णय गर्न आइतबार प्रतिष्ठानको बैठक बस्ने भएको छ। दुर्गेश विरुद्ध राज्यलाई कारबाहीको माग गर्ने र गुगललाई गीत हटाउन अनुरोध गर्ने सम्मका निर्णय बैठकले गर्ने बताइएको छ।

