एजेन्सी – इंग्लिस युवा डिफेन्डर ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड मर्सिसाइड क्लब लिभरपुलमै रहने भएका छन् । लिभरपुल र आर्नाेल्डबीच सम्झौता नविकरण भएको हो ।
सम्झौता अनुसार २२ वर्षीय युवा डिफेन्डर आर्नाेल्ड सन् २०२५ सम्म लिभरपुलमै रहनेछन् । लिभरपुलकै एकेडेमीबाट हुर्किएको आर्नाेल्ड सन् २०१६ देखि क्लबको सिनियर टोलीमा रहेका छन् । त्यसयता आर्नाेल्डले लिभरपुलमा ५ सिजन बिताउँदा १७९ खेलमा १० गोल गरेका छन् ।
आर्नाेल्डले सन् २०१६ मा कारवाओ कपमा टोटेनहमविरुद्ध खेल्दै सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले प्रशिक्षक योर्गेन क्लोपको मन जित्न सफल भएका छन् । क्लबमा सम्झौता नविकरण भएसँगै क्लबमा विश्वास देखाउन पाउँदा खुशी लागेको बताएका छन् ।
विश्व फुटबलमै उत्कृष्ट राइट ब्याकको परिचय बनाएको उनले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जितेका छन् । सन् २०१९ मा बालोन डि ओरको अन्तिम मनोनयनमा पर्न सफल भएका थिए ।
सन् २०१८ देखि इंग्ल्यान्डको राष्ट्रिय टोलीमा रहेका उनले १३ क्याप जित्दै १ गोल गरेका छन् । चोटका कारण उनले यसै महिना सकिएको युरोपेली च्याम्पियनसिपमा टोलीमा पर्नका बाबजुद प्रतियोगिता गुमाएका थिए ।

