मोरिबाका डिमाण्डले बार्सिलोना वाक्क-दिक्क !

एजेन्सी – युवा खेलाडी आइलक्स मोरिबाका डिमाण्डले क्याटलान क्लब बार्सिलोना दिक्क भएको छ। पछिल्लो केहि समय देखि सम्झौता थप गर्न प्रयासरत बार्सिलोना मोरिबाका नयाँ-नयाँ डिमाण्डले दिक्क भएको हो।

अहिले उच्च प्राथमिकतामा रहेका र धेरैको ध्यान तानेका मोरिबा बार्सिलोनासँग सन् २०२२ सम्मका लागि अनुबन्धित छन्। आउने वर्ष नै सम्झौता सकिने हुँदा बार्सिलोनाले अहिले नै सम्झौता थप गर्न चाहिरहेको छ।

मोरिबा ला मासिया एकेडेमीका उत्पादन हुन्। एकेडेमी हुँदै बार्सिलोनाको प्रमुख टोलीमा समेत सामेल भैसकेको अवस्थामा उनले सम्झौता थप गर्ने नगर्ने भन्ने विषय अन्योलमै छ।

मोरिबाको सम्झौता थप गर्न बार्सिलोनाले व्यक्तिगत मात्र नभई अनलाइन मार्फत पनि मोरिबा पक्षसंग कुराकानी बढाएपनि त्यो सफल हुन सकिरहेको छैन। सम्झौता थपका लागि बार्सिलोनाले गरेका सबै प्रस्तावमा मोरिबा पक्षले चासो नदेखाएका कारण बार्सिलोना दिक्क भएको स्पेनिस मिडिया मार्काले जनाएको छ।

बताइएअनुसार, मोरिबाले सम्झौता थप नगर्ने निष्कर्षमा बार्सिलोना पुगेको छ। मोरिबा सम्झौता थप नगर्ने पक्षमा रहेको बुझेसँगै बार्सिलोनाले मोरिबालाई बिक्री गर्ने योजना बनाएको छ। आफ्नै एकेडेमीका उत्पादन मोरिबाले अब छिट्टै सम्झौता थप नगरेको खण्डमा यहि ट्रान्सफर विन्डोमा मोरिबाका लागि नयाँ क्लब खोज्ने बार्सिलोनाको तयारी रहेको छ।

केहि समय अगाडी मोरिबासँग सम्झौता थप गर्ने क्याटलान क्लब बार्सिलोनामा रियल म्याड्रिडका कारण बाधा पुगेको खबर आएको थियो। मोरिबाले सम्झौता थप नगरेको खण्डमा क्लबको सिनियर टोलीसँग खेल्ने मौकाबाट वन्चित गर्ने बार्सिलोनाको योजना रहेको छ। त्यस विषयलाई क्लबले मोरिबालाई स्पष्ट भाषामा भनिसकेको बताइन्छ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१०:०३

रोनाल्डो र इकार्डी बीच सट्टा-पट्टाको चर्चा, इकार्डीको तर्फबाट आयो यस्तो स्पष्टिकरण !