हप्ताको पहिलो दिन नै सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबार ९ दिन यताकाई महँगो भएको सुनको भाउमा आज आइतबार भने गिरावट आएको हो। साताको पहिलो दिन आज छापवाला सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापवाला सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ९२ हजार ९ सयमा किनबेच भएको छापवाला सुन आज ५ सयले घटेको हो।
त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ५ सय रुपैयाँले नै घटेको छ। शुक्रबार तोलाको ९२ हजार ४ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज भने ९१ हजार ९ सय कायम भएको छ।
गत हप्ता छापावाला सुन सबैभन्दा महँगो शुक्रबार प्रति तोला ९२ हजार ९ सयमा कारोबार भएको थियो भने सबैभन्दा सस्तो मंगलबार ९१ हजार ८ सय प्रति तोलामा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन पनि सबैभन्दा महँगो शुक्रबार तोलाको ९२ हजार ४ सय कायम भएको थियो भने सबैभन्दा सस्तो ९१ हजार ३ सय प्रति तोलामा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य भने स्थिर छ। शुक्रबारको प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।