काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको विषयमा उनले माफी मागेका हुन्।
केहि समय अगाडी अलमुताइरीले एक अन्तर्वार्तामा नेपली फुटबलमा सुधार आउनको लागि खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन गर्नुपर्ने भनेपछि उनी विवादमा परेका थिए। जसपछि प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै सबैसँग माफी मागेका हुन्। उनले आफूले भनेका कुराको गलत अर्थ लागेको भन्दै समस्त नेपालीसँग माफी मागेका हुन्।

नेपाली फुटबल र खेलाडीको बारेमा बोल्दा आफूले गत तीन दशकमा नेपली फुटबल र अन्य एसियाली देशको फुटबलमा कस्तो विकास भएको छ भन्ने मात्र स्पष्ट पार्न खोजेको पनि उनले आफ्नो पोस्टमा उल्लेख गरेका छन्। उनले आफ्नो कसैसँग कुनै प्रकारको दुर्भावना नरहेको भन्दै नेपाल र नेपाली फुटबलको यात्राप्रति गर्व रहेको र नेपाली टोलीप्रति सधैँ सम्मान रहेको पनि बताएका छन्।
“आदरणीय खेलाडी, प्रशिक्षक, समर्थक तथा समस्त नेपली। आज म गत महिना मैले एक अनलाइनमा दिएको अन्तर्वार्ताको बारेमा माफी माग्न चाहन्छु। नेपाली फुटबल र खेलाडीको बारेमा बोल्दा मैले गत तीन दशकमा नेपली फुटबल र अन्य एसियाली देशको फुटबलमा कस्तो विकास भएको छ भन्ने मात्र स्पष्ट पार्न खोजेको थिएँ। पछिल्लो समय मैले मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको भन्ने महसुस गरेको छु। नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु,” उनले पोस्टमा लेखेका छन्, “मैले कसैप्रति पनि गलत नियत राखेको छैन र नेपाली फुटबल टिमसँग जोडिएर काम गर्न पाउँदा निकै खुसी छु र गर्व महशुस गरेको छु। नेपाली टोली प्रति सधैं मेरो सम्मान रहनेछ। जय नेपाल।”

