खुल्ने भयो लाइसेन्स ट्रायल, नयाँ व्यवस्था लागू हुने !

भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले बताएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोरोना महामारीको संक्रमण कम हुँदै गएको खण्डमा भदौको पहिलो सातादेखि ट्रायल खुलाउने गरी विभागले तयारी गरिरहेको जानकारी दिए। त्यस्तै, लिखित तथा ट्रायल परिक्षा दुबै नयाँ व्यवस्था अनुसार हुने पनि घिमिरेले बताए। तर लिखित परिक्षा दिएर ट्रायलका लागि बसेका मानिसको हकमा भने पुरानै व्यवस्था लागू हुने पनि उनको भनाई छ।

“ट्रायल तथा लिखित परीक्षा नयाँ व्यवस्थाअनुसार लागू हुने जानकारी गराउन चाहन्छु। पहिले नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू हुनेछ,” उनले भने। यातायात व्यवस्था विभागले यसअघि नै लाइसेन्सको हकमा लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था सार्वजनिक गरिसकेको छ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ (वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर/मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप, डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो। जसअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्ने प्रावधान रहेको छ।

विभागले लागू गरेको नयाँ कार्यविधि निर्देशिका जेठ १ गते देखि नै लागू गर्ने भानिएता पनि कोरोना महामारीका कारण उक्त कार्यविधि कार्यान्वयनमा आउन सकेको थिएन।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८११:५२

जुलाई महिनामा ९९ देशका तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए !