टोकियो ओलम्पिक २०२१ मा पुरुषतर्फको फुटबलको स्वर्ण पदकका लागि स्पेन र साबिक स्वर्ण पदक विजेता ब्राजिल भिड्दै छन्। सेमी-फाइनलका खेलहरुमा स्पेनले जापान र ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।

मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको ब्राजिलको यो लगातार तेस्रो ओलम्पिक फाइनल हो। २०१२ ओलम्पिकमा फाइनलमा पराजित भएको ब्राजिल २०१६ रियो ओलम्पिकमा भने स्वर्ण पदक जित्न सफल भएको थियो। त्यस्तै, सेमी-फाइनल खेलमा जापानलाई १-० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको स्पेन सन् २००० पछि पहिलो पटक ओलम्पिकको फाइनलमा प्रवेश गरेको हो।

ब्राजिल र स्पेन दुबै टोलीले अहिलेसम्म एक-एक पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्न सफल भएका छन्। स्पेनले सन् १९९२ मा पहिलो र एक मात्र ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा ब्राजिलले २०१६ मा घरेलु मैदानमा इतिहास मै पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको थियो। अहिलेसम्म ४ पटक फाइनल खेलेको ब्राजिल ३ पटक पराजित भएको थियो भने ३ पटक फाइनलको यात्रा तय गरेको स्पेन २ पटक पराजित हुन पुग्यो।

फाइनल खेल अगस्ट ७ शनिबार नेपाली समयअनुसार साँझ ५:१५ बाट सुरु हुनेछ। प्रतियोगितामा निकै उत्कृष्ट लयमा रहेका दुबै टोली दोस्रो पटक ओलम्पिक फुटबलको च्याम्पियन बन्ने दाउमा हुनेछन्।

