आधिकारिक सिजन अगाडी नै ब्लकबस्टर खेल: मेस्सी र रोनाल्डो फेरी एक पटक आमने सामने !

फ्री-एजेन्ट रहेका खेलाडी लियोनल मेस्सीले छिट्टै, सम्भवत आजै, बार्सिलोनासँग नयाँ सम्झौतामा हस्तक्षर गर्ने भएका छन्। जसको कारण आउँदो सोमबार जोआन ग्याम्पर ट्रफीका लागि हुने युभेन्टस विरुद्धको खेलका लागि उपलब्ध हुने सम्भावना उच्च रहेको छ। मेस्सीले उक्त खेल खेलेको खण्डमा पूरा विश्वले फेरी एक पटक मेस्सी र रोनाल्डो आमने-सामने भएको देख्न पाउनेछ।

क्याटालान क्लबका लागि सिजनको सुरुवातको रूपमा हेरिने गरेको मैत्रीपूर्ण कप ग्याम्पर ट्रफीले अहिले विश्वका दुई सर्वश्रेष्ठ खेलाडी मेस्सी र रोनाल्डो बीचको भिडन्तको रूपमा चर्चा पाएको छ। उक्त खेल अगस्ट ९, सोमबार नेपाली समय अनुसार रातिको १:१५ बाट बार्सिलोनाको जोहान कृएफ स्टेडियममा हुनेछ।

तर उक्त खेलमा मेस्सीले खेल्ने नखेल्ने बारे पक्का थिएन। आर्थिक रूपमा संघर्ष गरिरहेको बार्सिलोनाले लालिगाको तलब सीमा नियम अन्तर्गत नयाँ खेलाडी दर्ता गर्न नसक्ने स्थितिमा रहेको थियो। तर हालै मात्र सीपीभी क्यापिटल पार्टनर्सले लिगमा लगानी गर्ने भएसँगै हरेक क्लबले केहि रकम प्राप्त गर्ने भएका छन्। जसको कारण आफ्नो ५०% पारिश्रमिक कम गर्न तयार रहेका मेस्सीलाई दर्ता गर्न बार्सिलोनाका लागि समस्या नहुने भएको हो।

इबिजाका छुट्टी मनाएर बार्सिलोना फर्किने क्रममा रहेका मेस्सी र बार्सिलोना बीच सबै कुरामा सहमती जुटिसकेको र अब मेस्सीको हस्ताक्षर हुन र आधिकारिक घोषणा हुन मात्र बाँकी रहेको बुझिएको छ।

 

उता रोनाल्डोले पनि युभेन्टस छाड्ने चर्चा चलिरहेको समयमा ग्याम्पर ट्रफीको खेलसम्म भने उनी इटालियन क्लबमै रहने पक्का जस्तै रहेको बताइएको छ। यस्तोमा, पूरा फुटबल जगतले फेरी एक पटक मेस्सी र रोनाल्डो बीचको भिडन्त देख्न पाउनेछन्।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१७:४४

“मेरो नाम क्रिस्टियानो रोनाल्डो हो, मैले गरेको प्रहार गोल मात्र हुन्छ”, रोनाल्डोको त्यो लेजेण्डरी उत्तर !