काठमाडौं । एमाले एकता वा विभाजनको निर्णय लिने अपेक्षा गरिएको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरु माधव पक्षीय वार्ता टोलीका नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
माधव नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरु केपी ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै उनीहरु आक्रामक बनेपछि वार्ता टोली संयोजक भीम रावल प्रतिवादमा उत्रिएका थिए । जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावल जुरुक्क उठेका थिए । उनले आफूहरुले पार्टी एकताका लागि मेहनत गरेको भन्दै बाहिर मिडियामा मनपरी बोलेर वातावरण बिगार्न खोजेको आरोप समेत लगाए ।
माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक केहीबेर तनावग्रस्त बनेको थियो । कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिएका थिए । केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो । रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । बैठकमा जगन्नाथ खतिवडाले भने– कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओलीकहाँ पुगेर ओलीलाई खुसी पार्ने कुरा गरिरहनुभएको छ । त्यो काम बन्द हुनुप¥यो । हाम्रै समूह एकताबद्ध छैनौँ भने पार्टी एकता कसरी हुन सक्छ ? यस्ता व्यवहार बन्द हुनुपर्छ ? माधव नेपालको तर्फबाट वार्तामा जानेहरुले ओलीको बोली बोल्ने होइन ।
बैठकमा नेता नेपालले सुरुवाती सम्बोधन गरेपछि कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए । रावलले कार्यदलले गरेका उपलब्धी सुनाउँदै गर्दा ‘फ्लोर’बाट उनीमाथि नै प्रश्न उठेको थियो । आफ्नो आलोचना भएपछि रावल पनि आफ्नो स्वभाव अनुसार त्यसको प्रतिवादमा उत्रिदा बैठकमा भनाभन समेत परेको थियो ।
बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बिजय गुरुङ, बिजय पौडेल, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा र चुँडामणी जंगलीले माधव नेपालको प्रतिनिधि बनेर माधव नेपाललाई नै असहयोग गरेको भन्दै रावलमाथि आक्रोस पोखेका थिए ।
आफ्नो विस्तृत भनाइ नराखेको भए पनि केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बीचमै हात उठाएर कार्यदलबारे प्रश्न उठाएका थिए । उनले कार्यदल र भीम रावलप्रति लक्षित गर्दै माधव नेपालको नाम लिएर कार्यदलका नाममा माधव नेपाललाई नै धोखा दिने काम भएको आरोप लगाएका थिए ।
अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले पनि भीम रावलसँग भनाभन गरेका थिए । ‘माधव नेपालको मान्छे भएर कार्यदलमा जाने तर माधव नेपाललाई साथ नदिने ?,’ उनको आक्रोस थियो, ‘आफुखसी गर्ने ?’ रावलसँग रामकुमारी झाँक्रीको पनि भनाभन परेको थियो । आफ्नो आलोचना भएपछि रावलले केही शब्द ओलीको आलोचनामा पनि खर्चिएका थिए । ओली तानाशाह भएको उनको भनाइ थियो । झाँक्री यही कुरामा रावलसँग जंगिएको ती केन्द्रीय सदस्यले जानकारी दिए । ‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ?’, रावललाई रामकुमारीको प्रश्न थियो, ‘यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’
झाँक्रीले रावलमाथि आक्रोस पोखिरहँदा नेता नेपाल भने खुसी नै देखिएको ती केन्दीय सदस्यले बताए । कार्यदलमा रहेका अन्य सदस्यहरुले रावलमाथि प्रश्न उठाइरहँदा उनको खासै प्रतिरक्षा गरेनन् । आफूमाथि उठ्ने प्रश्नमा रावल जंगिन खोज्दा उल्टै उनीहरुले प्रश्नहरु उठ्न दिन आग्रह गरेका थिए । झपट रावलले भने १० बुँदे ठीक भएको भन्दै त्यसकै जगमा टेकेर अगाडि बढ्नु पर्ने धारणा रोखका थिए । अर्का केन्द्रीय सदस्य निरज आचार्यले माधव नेपालसँग प्रचण्डको पटक–पटकको भेटवार्ताले आफूहरुलाई असहज लागेको बताएका थिए । बैठकको शुरुमै सम्बोधन गरेका नेता नेपालले भने केपी ओलीलाई जति भने पनि उनी नसुध्रिने भन्दै उनी राजनीतिक मान्छै नै नभएको टिप्पणी गरेका थिए ।

