एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएपछि सबै भन्दा बढी तनाव पेरिस सेन्ट जर्मेन(पीएसजी)लाई भएको छ। मेस्सी बार्सिलोनामै रहने कुरामा ढुक्क रहेको पीएसजी पछिल्लो घटनाक्रम पछि तनावमा परेको हो।
पीएसजीले पहिला पनि मेस्सीलाई भित्र्याउने प्रयास गरेको थियो। तर मेस्सीबाट बार्सिलोना नछाड्ने जवाफ आएपछि पीएसजी नयाँ रणनीतिका साथ अगाडी बढेको थियो। उसले आफ्नो योजनामा मेस्सीलाई समावेश गरेको थिएन, बरु उसले युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई प्राथमिकतामा राखेको थियो।
पछिल्लो समय पीएसजी फ्रेन्च स्टार फुटबलर किलियन एम्बाप्पेलाई कसरी क्लबमा अड्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो। एम्बाप्पेलाई क्लबमै रहन राजी गराउन विभिन्न प्रस्ताव गर्ने पीएसजीको तयारी थियो।
दुवै पक्ष सम्झौताको लागि सहमत भएपनि ला लिगाको नियम अनुसार मेस्सी र बार्सिलोना बीच सम्झौता हुन नसकने भएपछि पीएसजीले एम्बाप्पेका अलावा मेस्सी तर्फ पनि ध्यान दिनु पर्ने भएको छ।
मेस्सीलाई लिएर कुनै पनि रणनीति नबनाएका कारण आकष्मिक भएको मेस्सीको बहिर्गमनलाई कसरी लिने भन्ने पीएसजीमा अन्योलता छ। मेस्सीलाई भित्र्याउन ठूलो पारिश्रमिक दिनु पर्ने भएका कारण पनि पीएसजी यति बेला तनावमा परेको छ। हाल नेयमार, एम्बाप्पे जस्ता उच्च पारिश्रमिक लिने खेलाडी क्लबमा छन्। मेस्सी समेत थप हुँदा पारिश्रमिकको भार बढ्नेछ।

