एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीलाई भित्र्याउने तयारी गरेको छ। मेस्सीलाई अनुबन्ध गर्न पिएसजीले आन्तरिक तयारी शुरु गरेको हो।
विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मेस्सीलाई अनुबन्ध गर्न पिएसजी आवश्यक सम्पूर्ण तयारी सहित अगाडी बढिरहेको छ। पछिल्लो घटनाक्रम सोचे भन्दा धेरै छिटो विकसित भैरहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।
बार्सिलोनाले मेस्सीलाई नयाँ सम्झौता दिन सम्भव नभएपछि मेस्सीका एजेन्ट तथा पिता जोर्गे मेस्सीले पिएसजीसँग सम्पर्क गर्दा पिएसजीले सकारात्मक जवाफ दिएको बताइएको छ ।
पिएसजी मेस्सीलाई भित्र्याउने र एम्बाप्पेलाई अड्याउने रणनीति सहित अगाडी बढिरहेको बताइन्छ। त्यो कसरी सम्भव हुन्छ भन्नेमा पिएसजीका अधिकारीहरुको चासो छ।
मेस्सीलाई १० नम्बरको जर्सी
बार्सिलोनामा मात्र नभई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पनि मेस्सीले १० नम्बरको जर्सी लगाउने गरेका छन्। पिएसजीमा अहिले १० नम्बरको जर्सी ब्राजिलियन फरवार्ड नेयमारले प्रयोग गर्दै आएको छ । पछिल्लो एक खबरका अनुसार नेयमार १० नम्बरको जर्सी मेस्सीका लागि छाड्न तयार छन्।
नेयमार मेस्सीको पुनर्मिलन
नेयमारले विभिन्न अवसरहरुमा मेस्सीसँगै खेल्ने चाहना जाहेर गरिसकेका छन्। गत वर्ष उनले सार्वजनिक रुपमै मेस्सी पिएसजी आउने दावी गरेका थिए। नेयमारको उक्त दावी अहिले आएर पूरा हुने देखिएको छ।

