एजेन्सी – गएको केहि दिन देखि यदि फुटबलवृत्तमा सबै भन्दा बढी कोहि छाइरहेको छ भने ती लियोनेल मेस्सी हुन्। बार्सिलोनासँग सम्झौता गर्ने भनेर चर्चा गरिएपनि अन्तिम समयमा आएर भएको नाटकीय परिवर्तनसँगै मेस्सी बार्सिलोनाको पकडबाट उम्किएका छन्।
मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अनुबन्धित हुने क्रममा छन्। पछिल्ला अपडेटहरुका अनुसार मेस्सी र पिएसजी बीच मौखिक सहमति भइसकेको छ। पिएसजीका मालिक कतारी राजकुमारका भाइ खालिद बिन हमाद बिन खालिफा अल थानीले त मेस्सी पिएसजी आउने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन्।
मेस्सी आएपछि क्लबलाई हुने समपूर्ण लाभलाई सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा पिएसजी केन्द्रित भएको बताइन्छ। मेस्सीको आगमनले क्लबको ब्राण्ड भ्यालुलाई समत बढाउने कुराले पिएसजीका उच्च अधिकारीहरु उत्साहित छन्।
कति होला मेस्सीको पारिश्रमिक ?
विश्वकै महँगो पारिश्रमिक लिने खेलाडीको रुपमा रहेका मेस्सीको पिएसजीम पारिश्रमिक कति होला भन्नेमा पनि सबैको चासो छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले दावी गरेअनुसार मेस्सीले नेयमार भन्दा बढी पारिश्रमिक पाउनेछन्। पिएसजीमा नेयमारले वार्षिक ३५ मिलियन युरो पारिश्रमिक पाइरहेका छन्।
सम्झौता सहि गएको खण्डमा मेस्सीको पारिश्रमिक ४० मिलियन युरो रहने बताइन्छ। फ्रेन्च मिडियाहरुका अनुसार उक्त पारिश्रमिक पिएसजीलोए यस अगाडी मेस्सीलाई अफर गरे भन्दा कम हो। बार्सिलोनासँगको सम्झौता सकिएलगतै पिएसजीले मेस्सीलाई उक्त रकम भन्दा बढी अफर गरेको फ्रेन्च मिडियाहरु दावी गर्छन्। पिएसजी र मेस्सी बीचको सम्झौता २ वा ३ वर्षको हुने प्रारम्भिक खबर छ।

