पेनाल्टीमा चुके बेल !

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब एसी मिलानले बराबरी खेलेका छन् । अष्ट्रियामा आइतबार राति भएको खेलमा ग्यारेथ बेल पेनाल्टीमा चुक्दा रियल र मिलानले गोलरहित बराबरी खेलेका हुन् ।

बल पोसेसनमा पकड बनाएपनि रियलले जित निकाल्न सकेन । खेलको तेस्रो मिनेटमा नै थियो हर्नान्डेजको काउन्टर अट्याक पासमा राफयल लियोको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । २८औं मिनेटमा लुका मोड्रिचको प्रहारलाई गोलरक्षक मिक मेइगनाले सहजै बचाए । लगत्तै इस्कोको प्रहारले पोस्टको गति लिन सकेन ।

४०औं मिनेटमा रियलले पेनाल्टी पाएपनि ग्यारेथ बेलले त्यसलाई सदुपयोग गर्न सकेनन् । सान्द्रो टोनाली र डाभिड कालाब्रियाले बेललाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थियो । तर बेलको पेनाल्टीलाई मेइगनानले बचाउँदा रियल अग्रता लिनबाट चुक्यो ।

५२औं मिनेटमा मोड्रिचको प्रहारलाई मेइगनानले पुनः विफल पारे । ६६औं मिनेटमा एन्टी रेविचको प्रहार बाहिरिदा मिलानले अग्रता लिन सकेन । त्यसपछि दुवै टोलीबाट केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

रियलले मिलानविरुद्ध पहिलो हाफमा थिवाउट कोर्टुवा, लुकास भास्क्वेज, नाचो फर्नान्डेस, डेभिड अलाबा, मार्सेलो, लुका मोड्रिच, क्यासमिरो, इस्को, ग्यारेथ बेल, लुका जोभिक र रोड्रिगोलाई खेलाउँदा दोस्रो हाफमा एन्ड्री लुनिन, मिगुइल गुइटेरेज, मारियानो डियाज, एन्टेनियो ब्लान्को, भिनिसियस जुनियर, एडर मिलिसाओ, मार्टिन ओडेगार्ड, सर्जियो एरिवास, मार्भिन पार्क र भिक्टर चस्टले मौका पाएको थियो ।

मिलानले पनि अनुभवी र युवा टोलीको समिश्रणमा टोली तयार पारेको थियो । ओलिभर जिरुउड, ब्राहिम डियाजले अवसर पाएको थियो । अब दुवै टोली आ–आफ्नो देशको लिगमा होमिनेछ । रियलले १५ अगस्टमा डिपोर्टिभो एलाभेससँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्नेछ । मिलानले एक मैत्रीपुर्ण खेलपछि सिरी ‘ए’ मा होमिनेछ ।

प्रकाशित : सोमबार, साउन २५, २०७८०९:४१

रोनाल्डोको चलेन जादू, मेस्सी बिनै बार्सिलोनाको जित !