रोनाल्डोको चलेन जादू, मेस्सी बिनै बार्सिलोनाको जित !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । इटालियन प्रतिद्वन्द्वी युभेन्ट्समाथि ३–० को सहज जित निकाल्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।

नोउ क्याम्पबाट आफ्ना लेजेन्ड तथा कप्तान लियोनेल मेस्सीलाई बिदाई गरेकै दिन बार्सिलोनाले आफैले आयोजना गरेको ट्रफीको उपाधि जित्न सफल भएको हो । बार्सिलोनालाई च्याम्पियन बनाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

नोउ क्याम्पमा आइतबार राति भएको खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

९०औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जितसहित च्याम्पियन बनाए । रिकी पुच ७१औं मिनेटमा सर्जि रोबर्टाेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

बार्सिलोना र युभेन्ट्स दुवै टोलीले यस खेलमा युवा खेलाडीलाई अवसर दिएका थिए । बार्सिलोनाले इमर्सन, निको गोन्जालेज, युसुफ डेमिर, एलेजान्द्रो बाल्डे, रे मानाज र एलेक्स कोल्लाडोलाई मौका दिएका थिए ।

यता, युभेन्ट्सले पहिलो हाफसम्म आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा लगायतलाई मौका दिएका थिए । दोस्रो हाफमा अन्य अनुभवी खेलाडीले अवसर पाएपनि मौकाको सदुपयोग गर्न सकेनन् ।

एक पटकको च्याम्पियन युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेलेपनि उपाधि जित्न सकेन । युभेन्ट्सले पछिल्लोपटक २००५ मा यस ट्रफीमा खेलेको थियो । क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ ।

हालसम्म ५६ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले ४४ पटक यो उपाधि जितेको छ । एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्ट्स, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एक पटक उपाधि जितेका छन् ।

प्रकाशित : सोमबार, साउन २५, २०७८०९:४८

मेस्सी पीएसजी जाने पक्का !