विभिन्न स्रोतहरुले हालै मात्र बार्सिलोना छाडेका मेस्सी फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध हुनका लागि सहमत भएको पुष्टि गर्दै गर्दा मेस्सीका चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोका लागि भने यो ठूलो झट्का साबित हुनसक्छ।

सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडमा ९ वर्षको बसाईपछि इटालियन क्लब युभेन्टस प्रस्थान गरेका रोनाल्डो अहिले भने क्लबमा खुसी नरहेको खबर आउने गरेको छ। केहि रिपोर्टसका अनुसार रोनाल्डो यहि सिजन युभेन्टस छाड्न चाहन्छन्। ३६ वर्षीय स्ट्राइकर पूर्व क्लब रियल म्याड्रिड फर्किन चाहेपनि म्याड्रिडलाई रोनाल्डोमा कुनै चासो नभएको बुझिएको छ। रियलले पीएसजी स्टार किलियन एम्बाप्पेलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ।

रियलमा ट्रान्सफर सम्भव नहुँदा रोनाल्डोको ठूलो पारिश्रमिकका कारण उनलाई अनुबन्ध गर्न सक्ने क्लबका रूपमा पीएसजी मात्र देखिन्छ। तर हाल पीएसजीको मुख्य लक्ष्य मेस्सीलाई क्लब भित्र्याउने बन्दा रोनाल्डो फ्रान्स जाने सम्भावना अत्यन्त न्युन बनेको छ। नेइमार र एम्बाप्पे जस्ता ठूला नाम पहिले नै भएको पीएसजीमा मेस्सीको आगमनपछि रोनाल्डोको ट्रान्सफर असम्भव बराबर देखिन्छ।

रियल म्याड्रिडसँग नाम जोडिएका किलियन एम्बप्पे ठूलो रकममा म्याड्रिड प्रस्थान गर्दा पनि अब रोनाल्डोको पीएसजी जाने सम्भावना नदेखिने विभिन्न स्रोतहरुले जनाएका छन्। जसको कारण मेस्सी र रोनाल्डो एकै टोलीबाट खेलेको हेर्ने सारा फुटबल दर्शकको सपना पूरा हुने सम्भावना देखिँदैन।

