बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सीले क्लब छाड्ने घोषणा गरे पश्चात् एस्पाई बार्सा कमिशनका पूर्व सदस्य जाउम लोपिसले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनका अनुसार क्लबले बार्सा इतिहास कै सर्वोत्कृष्ट खेलाडीलाई राख्न गर्न सक्ने प्रयास पनि गरेन।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको नाम नलिई लोपिसले लापोर्टा क्लबका सीईओ फेरान रिभर्टरको दबाबमा झुकेको बताएका छन्। एक कार्यक्रममा बोल्दै लोपिसले भने,”यसको लागि २५ दिन बाँकी थियो तर मलाई लाग्दैन कि क्लबले मेस्सीलाई बार्सामा राख्न जति गर्न सक्थ्यो त्यति गरेन। मेस्सीको भविष्यबारे वार्ता गर्ने कुनै वास्तविक इच्छा थिएन।”

क्लबले खेलाडीलाई दिने पारिश्रमिक बिल कम गर्नको लागि लापोर्टाले मेस्सीलाई बिदा गरेको उनले बताए। मेस्सीको बहिर्गमनले क्लबको पारिश्रमिक बिल छोटो समयका लागि घटाउने तर क्लबका लागि आवश्यकता नभएका धेरै खेलाडी, प्रबन्धक र स्टाफ सदस्यहरु रहेको लोपिसको भनाई छ।

“मलाई लाग्छ क्लबका सीईओबाट पैसा बचाउनका लागि दबाब थियो। तर मेस्सीलाई क्लबमा राख्न धेरै कुरा गर्न सकिन्थ्यो तर ती चीज गरिएन,” उनले भने।

