लगातारको छलफलपछि मेस्सी र पिएसजी सम्झौताका लागि सहमत !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता पक्का गरेका छन् । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति जनाएका हुन् ।

गत विहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो । द एथ्लेटिकका अनुसार लगातारको छलफलपछि दुई पक्ष सहमतिमा आएका हुन् । मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए ‌।

मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् । उनिसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌।

यसबीच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चलेपनि अ‍ौपचारिक रुपमा भने त्यो प्रस्ताव नआएको बुझिएको छ ‌। बार्सिलोनाले अर्जेन्टिनी क्लब नेवेल्स अ‍ोल्ड ब्वाइजसँग सहकार्य गर्ने चर्चा चलेपनि त्यसमा मेस्सीले इच्छा देखाएनन् ।

पिएसजीले अब चाँडै मेस्सीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ । मेस्सीको प्रतिक्षामा आइतबार नै हजारौं समर्थक पेरिसमा भेला भएका थिए । पिएसजीले आजका लागि आएफिल टावर बुक गरेकाले सार्वजनिक कार्यक्रम हुने सम्भावना पनि छ ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१७:५२

मेस्सी पिएसजी आउने पक्का भएपछि मख्ख नेयमार, यसो भने !