काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।
यूएन प्रि–स्याट प्रश्नपत्र ‘लिक’ प्रकरण
प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।
प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । हबल्दार शाहले यूएन शाखाबाट प्रश्नपत्र झिकेर भाइबरमार्फत आउट गरेको पुष्टि भइसकेको छ ।
– जवानदेखि एसपीसम्म ११ लाई विभागीय कारबाही
प्रहरी महानिरीक्षकको सचिवालयका नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठित समितिले छानबिन सकेर ५ सय ५० पृष्ठ लामो प्रतिवेदन प्रहरी महानिरीक्षक थापालाई बुझाएको हो ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले छानबिन समितिले प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन बुझाएको र प्रतिवेदन अध्ययनपछि समितिले गरेका सिफारिसका आधारमा थप निर्णय हुने जानकारी दिए ।
विभागीय कारबाहीमा कोको ?
प्रश्नपत्र लिक भएपछि गठित छानबिन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई छानबिनको दायरामा तानेर सोधपुछ गरेको थियो । सो क्रममा उनीहरूले चलाएका मोबाइल र त्यसबाट भएका कुराकानी, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जाललगायतलाई प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिएको थियो ।
सो क्रममा संलग्नता पुष्टि भएपछि समितिले दुई एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । कारबाहीमा पर्नेमा यूएन शाखाका प्रमुख रहेका एसपी अनुपमशमशेर जबरासमेत छन् । यूएन शाखामा रहेको प्रश्न उनीसँगै चाबी भएको दराजमा थियो । तर, उनी घर भएको समयमा प्रश्न चोरी भएको थियो ।
यसैगरी, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट र प्रहरी निरीक्षक ईश्वरी भण्डारीसमेत विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् । उनीहरूलाई सामान्य कारबाही सिफारिस गरिएको छ । उनीहरूले प्रश्नको सुरक्षा गर्न नसकेको र लापर्बाही भएको पाइएको प्रतिवेदनमा भनिएको छ ।
यसैगरी, डीएसपी रूपेश खड्का र अर्का डीएसपी सुगन्ध श्रेष्ठलाई हदैसम्मको कारबाहीका लागि सिफारिस गरिएको छ । यस्तै, प्रहरी निरीक्षक दिलिप क्षत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सना, प्रहरी नायब निरीक्षक सुनिल भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की, प्रहरी जवान सुनिता नेपाललाई पनि विभागीय कारबाहीका लागि छानबिन समितिले सिफारिस गरेको छ । डीएसपी खड्का पहिले यूएन शाखामा नै कार्यरत थिए ।
१ सय १९ जनाको हातमा पुगेको थियो प्रश्नपत्र
छानबिन समितिले तयार गरेको छानबिनपछिको प्रतिवेदनअनुसार प्रश्नपत्र लिक भएपछि परिचर हुँदै विभिन्न तहका १ सय १९ प्रहरी कर्मचारीसम्म पुगेको पाइएको छ ।

