पेनाल्टी सुटआउटमा भिल्लारियल पराजित, चेल्सीलाई युइएफए सुपर कपको उपाधि !

एजेन्सी – च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिगा विजेता स्पेनिस क्लब भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा सोही नतिजा कायम भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा चेल्सीले बाजी मारेको हो । पेनाल्टीमा चेल्सीको सुरुवाती प्रहार नै विफल भएको थियो ।

काई हाभर्टजको प्रहारलाई भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाएका थिए । त्यसपछि चेल्सीको सबै ६ पेनाल्टी गोल भएको थियो । चेल्सीका लागि सेसर एज्पिलिक्वेटा, मार्काेस अलन्सो, मासन माउन्ट, जर्गिन्हो, क्रिस्टियन पुलिसिस र एन्टेनियो रुडिगरले गोल गरे ।

भिल्लारियलका जेरार्ड मोरेनोले गोल गर्दा दोस्रो प्रहारमा एइसा मान्दीले गोल गर्न सकेनन् । उनको प्रहारलाई सब्सिच्युट गोलरक्षक केपा एरिजाबालगाले बचाए । त्यसपछि भिल्लारियलको ४ पेनाल्टी सुदयोग हुदा अन्तिम पेनाल्टीमा राहुल अल्विओलको प्रहारलाई गोलरक्षक केपाले बचाउँदै चेल्सीलाई च्याम्पियन बनाए । भिल्लारियलका पेर्भिस स्टुपिनान, मोइ गोमेज ड्यानियल रावा र जुआन फोयथले गोल गरेका थिए ।

त्यसअघि वाइन्ड सर पार्क वेलफास्टमा बुधबार राति भएको खेलमा चेल्सीले खेलको सातौ मिनेटम नै हाकिमी जियाचको कर्नरमा टिमो वेर्नरको प्रहारलाई भिल्ला रियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाउँदा चेल्सी अग्रता लिनबाट चुकेको थियो । लगत्तै नवौं मिनेटमा एङ्गोलो कान्टेको २५ यार्ड टाढाको प्रहार बाहिरिएको थियो ।

२७औं मिनेटमा हाकिमी जियाचको गोलबाट गोलबाट अग्रता लिएको थियो । उनले काई हाभर्टजको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा जुआन फोयथको पासमा बोउलाए डियाको प्रहारलाई गोलरक्षक इडुआर्ड मेन्डीले बचाउँदै चेल्सीको अग्रता कायमै राखे । ३५औं मिनेटमा हाकिमी जियाचको पासमा मार्काेस अलन्सोको प्रहारमा गोलरक्षक एसेन्जो बाधक बन्दा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३६औं मिनेटमा जियाचको फ्रिकिकमा कोर्ट जोउमाले प्रयास गरेपनि सफल हुन सकेन । पहिलो हाफको इन्ज्युरी समयमा जेरार्ड मोरेनोको प्रहार क्रसबारमा लागेर फर्कदा भिल्लारियल बराबरीबाट चुकेको थियो । ५२औं मिनेटमा यारेमी पिनोको पासमा मोरेनोको अर्काे प्रहारलाई मेन्डीले एक हातले छुदैँ बाहिर फालेका थिए ।

७३औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले बोउलाए डियाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिसले सुवर्ण अवसर खेर फाल्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले केही प्रयास गरेपनि सदुपयोग हुन नसक्दा खेल ट्राइब्रेकरमा लम्बिएको थियो ।

पेनाल्टीका लागि प्रशिक्षक थोमस टुचेलले गोलरक्षक मेन्डीलाई बाहिर राख्दै केपालाई अवसर दिएको थियो । उनले दुई पेनाल्टी बचाउँदा प्रशिक्षक टुचेल रणनीतिमा सफल भयो ।

नयाँ सिजन शुरु हुनुअघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच युइएफए सुपर कप खेल्ने प्रावधान छ । चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै गत सिजनको च्याम्पियन्स लिगको विजेता बनेको थियो । भिल्लारियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८०७:३७

मेस्सी गएपछि अब के होला एम्बाप्पेको भविष्य ?