लामो समयसम्म एक-अर्काको विरुद्द खेलेका पूर्व बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व रियल म्याड्रिडका कप्तान सर्जियो रामोस अब भने एकै टोलीबाट खेल्ने भएका छन्। दुबै खेलाडी यहि सिजन फ्री ट्रान्सफरका रूपमा पीएसजी प्रस्थान गरेका हुन्। मंगलबार मात्र पीएसजीसँग अनुबन्ध भएका मेस्सीलाई होटलमा बस्न मन नलागे आफ्नो घरमा बस्न आउन रामोसले आग्रह गरेका छन्।
एल पाइसको एक रिपोर्टका अनुसार पूर्व रियल कप्तानले मेस्सीलाई पेरिसमा घर नकिनेसम्मको लागि आफ्नो घरमा बस्न सक्ने बताएका छन्। हाल मेस्सी पेरिसको ले रोयल मोनसेआउमा बसेका छन्। यसअघि आफू पीएसजीसँग अनुबन्ध भएपछिको एक अन्तर्वार्तामा रामोसले मेस्सी पेरिस क्लबसँग अनुबन्ध भएको हेर्न चाहने बताएका थिए। आफूले क्लबमा सधैं विश्वका उत्कृष्ट खेलाडी हुन् भन्ने चाहेको र मेस्सी विश्व कै सर्वश्रेष्ठ खेलाडी रहेको उनको भनाई थियो।
लामो समयदेखि राइभलको रूपमा एक-अर्का विरुद्ध मैदानमा लडाई गरेका यी दुई अब एकै टोलीबाट खेल्दाको अनुभव दर्शकले लिन पाउने भएका छन्। दुई स्टार बीचको मित्रताका लागि रामोसले पहिलो कदम चालिसकेका छन्। यी दुई खेलाडी एकसाथ मैदानमा कहिले उत्रिनेछन् भन्ने पक्का भने भइसकेको छैन।
हाल रामोस चोटका कारण दुई महिना मैदान बाहिर भएका छन् भने मेस्सीले प्रि-सिजनका एक खेल पनि नखेलेको हुँदा तत्काल नै उनी पनि पीएसजीको जर्सीमा डेब्यु गरिहाल्ने सम्भावना छैन।