काठमाडौँ – कोरोना महामारीका कारण भाषा परीक्षा पनि अनिश्चित बनेको छ। विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार महामारी बढेकाले भाषा परीक्षा अनिश्चित बनेको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
दुई वर्षदेखि कोरियन भाषा परीक्षा हुन सकेको छैन। कोरोना महामारी सुरु हुनुअघि हरेक वर्ष भाषा परीक्षा हुन्थ्यो। कोरियाले रोजगारी अनुमति प्रणाली अन्तर्गत नेपालबाट सन् २००७ पछि कामदार लैजान थालेको हो।
रोजगारदाताको मागको आधारमा कोरिया सरकारले हरेक वर्ष नेपालबाट लैजाने कामदारको कोटा निर्धारण गर्छ। भाषा परीक्षा उत्तीर्ण गरेर हालसम्म करिब ६० हजार नेपाली कोरिया गएकामा ४० हजारजति उतै रहेको बताइन्छ।
भाषा र सीप परीक्षा उत्तीर्णलाई रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले मन पराएका श्रमिकलाई बोलाएर काम दिन्छन्।
भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र कोरियाका रोजगारदाताले नबोलाए पुनः भाषा परीक्षामा प्रतिस्पर्धा गर्नुपर्ने नियम छ। सोही नियमका कारण हरेक वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका केही न केही कोरिया जानबाट वञ्चित हुने गरेका छन्। अहिले भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जानबाट रोकिएको बताइन्छ।
कोरियाले विश्वका १६ मुलुकबाट रोजगार अनुमति प्रणालीमार्फत कामदार लैजाने गरे पनि धेरैजसो कोरियन रोजगारदाताको छनोटमा नेपाली पर्ने गरेको विभागका कर्मचारी बताउँछन्।