तेस्रो प्रयासमा मुख्यमन्त्रीको कुर्सी

बुटवल । कुलप्रसाद केसी तेस्रो प्रयासमा लुम्बिनी प्रदेश सरकार हाँक्ने स्थानमा पुगेका हुन् । यसअघि वैशाख ६ र २६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएका थिए । नेकपा विभाजनको असर लुम्बिनी प्रदेशमा पनि परेसँगै निवर्तमान मुख्यमन्त्रीको कुर्सी धरापमा परेको थियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

नेकपा एक हुन्जेल पोखरेलकै सरकारमा आन्तरिक मामिलामन्त्री थिए, केसी । तर, २०७७ फागुन २३ मा नेकपा खारेज भएर साविकका दुई दल ब्यूँतिएपछि गत वैशाख ६ गते केसीसहित सामाजिक विकासमन्त्री सुदर्शन बराल प्रदेश सरकारबाट बाहिरिएका थिए ।

त्यसपछि कांग्रेससहित जसपा र जनमोर्चाको साथ लिएर उनै केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पहिलोपटक पोखरेलविरुद्ध वैशाख ६ मै अविश्वासको प्रस्ताव दर्ता भयो । प्रदेश प्रमुख धर्मनाथ यादवले उक्त प्रस्तावमाथि छलफल गर्न वैशाख १९ मा प्रदेश सभा बैठक बोलाए । तर, वैशाख १९ मा मुख्यमन्त्रीले पदबाट राजीनामा दिँदै त्यही अधिवेशन बस्दै नबसी अन्त्य गराइदिए । फेरि विपक्षी गठबन्धनले वैशाख २६ मा दोस्रोपटक अविश्वास प्रस्ताव पेश गर्दै प्रदेश सभा बोलाउन समावेदन गरे ।

तर, प्रदेश प्रमुख यादवले औचित्य नरहेको भन्दै खारेज गरिदिए । दोस्रो पटकको प्रयास असफल भएपछि साउन १९ गते फेरि ३४ जना सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव पेश गरे । यसपटक भने मुख्यमन्त्री पोखरेलले आफैँ राजीनामा गरिदिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका नेताहरूले आआफ्नो कित्ता छुट्याइसक्दा पनि सचिवालय सदस्य रामबहादुर थापा (बादल) भने अन्योलग्रस्त थिए । त्यसैले उनले परामर्शका लागि आफ्ना निकटस्थहरूलाई लगातार मन्त्री क्वार्टर पुल्चोकमा बोलाइरहे ।

पुस ८ गते साँझ बादलले ती सहयात्रीहरूसँग भने, ‘कमरेडहरू म ओलीतिर लाग्नुपर्ने परिस्थिति बन्यो, तपाईंहरूलाई कुनै दबाब दिन्न, निर्णय गर्दा आफ्नो विवेक प्रयोग गर्नुहोला, राजनीतिक भविष्य हेर्नुहोला ।’ बादलको त्यो अभिव्यक्तिले उद्वेलित भएका केसीले तप्प आँशु झारे र अरू साथीहरूसँगै मन्त्री क्वार्टरबाट बाहिरिए । फेरि फर्किएनन् । पुस ८ गते नै त्यस्तो एउटा निर्णायक दिन बन्यो,बादल र उनको साथमा रहेका अरू नेताहरूको सम्बन्ध फाट्यो ।

पुस ९ गते बादल नेकपा ; ओली समूहको बैठकमा सहभागी हुन बालुवाटार पुगे, केसी सहितका अरू नेता प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन थापाथली । राजनीतिक शक्ति र भूमिकाका हिसाबले बादल अहिले किनारामा पुग्दा त्यसबेला बादलसँग मन दुःखाएर निस्किनेमध्येका एक केसी झण्डै साढे ७ महिनापछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको कुर्सीमा उक्लिएका छन् ।

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता केसी माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि केसीलाई मुख्यमन्त्री बन्ने ढोका खुलेको हो । साउन १९ गते मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव राखेका थिए ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८०९:०९

एसइइ नदिदै पढाई छाड्नेको संख्या ठूलो !